खाद्य संस्थानले चार जिल्लाका लागि ६ हजार ९ सय क्न्टिल खाद्यान्न ढुवानी गर्दै

“
काठमाडौं, असार ११ । नेपाल खाद्य संस्थानले कालिकोटको पलाता गाउँपालिकामा खाद्यान्न ढुवानी गर्ने भएको छ ।
संस्थानको ब्यवस्थापन समितिको हिजो बसेको बैठकले कालिकोट, रुकुम, सुर्खेत र मुगु जिल्लाका लागि चालू आर्थिक वर्ष ०७४/०७५ का लागि थप खाद्यान्न माग भई आएकोमा हिजोको बैठकले कोटा थप गर्ने निर्णय भएको जनाएको छ ।
संस्थानको विक्रि वितरण विभागले आज सूचना जारी गरी सोको जानकारी गराएको हो ।
संस्थानले सुर्खेत–सोरुकोट डीपोका लागि १५ सय क्विन्टल, मुगु–पुलु डीपोका लागि ५ सय क्विन्टल, सुर्खेत रातापानी विक्रि केन्द्र मुगुका लागि ५ सय क्विन्टल खाद्यान्न ढुवानी गर्ने भएको छ ।
यसैगरी, सुर्खेत–थिर्पु डीपो कालिकोट १ हजार क्विन्टल, कालिकोट थिर्पु डीपो कालिकोट ५ सय क्विन्टल र रुकुम (पश्चिम) आठविसकोट पश्चिमका लागि २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी गर्ने निर्णय गरेको जनाएको छ ।
सुर्खेत–थिर्पु डीपोका लागि छुट्र्याएको १ हजार क्विन्टल मध्ये २ सय क्विन्टल खाद्यान्न आजै ढुवानी भईसकेको र बाँकी खाद्यान्न एक साताभित्र ढुवानी हुने सुर्खेत–थिर्पु डीपोका लागि ढुवानीको जिम्मा लिएका कमल गुरुङले जानकारी दिए ।
कालिकोट थिर्पु डीपो कालिकोट ५ सय क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदार निलो तिवारले केहि दिनभित्रै ती क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने बताए ।
गएको महिना कालिकोटको पलाता र पचालभरना गाउँपालिकामा खाद्यान्न अभाबले भोकमरी सृजना हुनसक्ने समाचार प्रकाशित गरेको थियो । संस्थानका केहि भ्रष्ट कर्मचारी, हाकीमले गैर जिम्मेवारीपूर्ण ढंगले सो क्षेत्रमा खाद्यान्न ढुवानी नगर्ने निर्णय गरेपछि मकालु खबरले उक्त विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको थियो ।
समाचार प्रकाशित भएपछि पूर्व आपुर्तिमन्त्री दीपक बोहराले समेत चासो ब्यक्त गर्दै दुर्गम क्षेत्रका लागि राज्यले प्रदत्त गरेको अधिकार कटौती नगर्न भन्दै खाद्य संस्थानका पदाधिकारीलाई समेत आग्रह गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष निराजन बमले आउँदो सातादिन भित्र उक्त क्षेत्रमा खाद्यान्न ढुवानी हुने आश्वासन पाएको बताए । उनले गत महिना संस्थानले खाद्यान्न ढुवानी रोकेपछि आमरण अनसन नै बस्ने चेतावनी दिएका थिए । ‘चालू आर्थिक वर्षमा थिर्पु डीपोका लागि १५ सय क्विन्टल खाद्यान्न ढुवानी गर्ने निर्णय गरेर संस्थानले दुर्गम क्षेत्रका जनतालाई राहत दिएको छ ।’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी युवा संगठनका वकिल बमले खाद्यान्न अभावले भोकमरी सृजना हुने अवस्थामा संस्थानले चालू आर्थिक वर्षका लागि थप खाद्यान्न पठाउन लागेकोमा खुसी ब्यक्त गरे । ‘केहि भ्रष्ट र कमिसन खान पल्केका पदाधिकारी र ठेकेदारको कारण खाद्यान्न ढ्वानी रोेकिएको थियो, ढिलै भएपनि संस्थानले त्यहाँका जनतालाई राहत दिने निर्णय गरेछ ।’ उनले भने ।
संस्थानले आउँदो आर्थिक वर्ष ०७५/०७६ का लागि पनि छुट्टै खाद्यान्न पठाउनेछ ।
“








