अब १० देश छनोट हुन बाँकी, को पुग्ला नकआउट चरणमा ?

काठमाडौँ, असार ११ । रुसमा जारी विश्वकप फुटबलमा सोमबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै छन् । ८ समूहमा रहेका ३२ देशमध्ये १६ देशले नकआउट चरणमा स्थान बनाउने छन् । यसमध्ये ६ देशले दाश्रा चरणमै अघिल्लो चरणको यात्रा तय गरिसकेका छन् ।
बाँकी १० देशको भने अन्तिम चरणको खेलबाट मात्रै टुुंगो लाग्नेछ । कमजोर मानिएका केही टिमले स्थान बनाइसक्दा पनि ठूला टोली भने खतराको सूचीमै छन् ।

कुुन समूह कस्तो अवस्थामा

समूह ए

यो समूहबाट आयोजक रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । अब उरुग्वेसँगको खेलमा हारबाट जोगिएमा रुस समूह विजेता बन्ने छ । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । यो समूूहको अबको खेल समूह विजेता तय गर्न मात्रै हुनेछ ।

समूह बी

यो समूहबाट स्पेन पोर्चुुगल र इरान मध्य दुई देशको अघिल्लो चरणको संभावना बाँकी छ । मोरक्को भने लगातार दुई खेल हार्दै बाहिरिसकेको छ ।

मोरक्कोसँगको खेलमा बराबरी गरेमा पनि स्पेन अघिल्लो चरण जानेछ । र स्पेन हारेमा पनि उसको सम्भावना सकिने छैन । त्यसका लागि पोर्चुगल इरानसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ वा यो खेलमा कम गोलको बराबरी भएमा स्पेन मोरक्कोसँग एक गोल अन्तरले मात्रै पराजित भएमा अघिल्लो चरण पुग्नेछ ।

पोर्चुगल इरानसँग बराबरी गरेमा पनि अघिल्लो चरण जाने छ । यदी स्पेन र पोर्चुगल दुवै पराजित भए भने बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ । यदी दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।

यो समूहको शीर्ष दुईमा रहेका टिमको अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रह्यो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।

इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ र स्पेन मोरक्कोसँग हारेमा इरान समूह विजेता पनि बन्न सक्नेछ ।

समूह सी

यो समूहबाट फ्रान्सले अघिल्लो चरणमा स्थान बनाइसकेको छ । डेनमार्कसँगको खेलमा एक अंक मात्रै बटुलेमा पनि उ समूह विजेता बन्नेछ ।
फ्रान्ससँग बराबरी गर्दा र अस्ट्रेलियाले पेरुलाई हराउन सकेन भने डेनमार्क अघिल्लो चरण पुग्नेछ । फ्रान्सलाई हराउन सके डेनमार्क समूह विजेता बन्नेछ ।

अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनु पर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनु पर्नेछ ।

समूह डी

क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ । मंगलबार आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ ।

अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया पनि छनोट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउन नसके नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ । अघिल्ले चरणका लागि अर्जेन्टिना र आइसल्याण्डलाई भने जीत आवश्यक छ । अन्तिम खेलमा दुवैले जीत निकालेमा गोलअन्तरको आधारमा अघिल्ले चरण पुुग्ने टोलीको टुंगो लाग्नेछ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउनु हुँदैन । आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ । तर त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ ।

यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।

समूह ई

अन्तिम १६ मा स्थान बनाउनका लागि सर्बियासँगको खेलमा ब्राजिललाई बराबरी काफी हुन्छ ।

ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले खेल जितेमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । ब्राजिलले तीन तथा स्वीट्जरल्याण्डले चार पहेँलो कार्ड पाएका छन् । ब्राजिल सर्बियासँग तथा स्वीट्जरल्याण्ड कोस्टारिकासँग परातिज भएमा दोस्रो स्थानको निर्णय पनि यही प्रक्रियाबाट हुनेछ ।

कोस्टारिकासँगको खेलमा कम्तिमा बराबरी वा सर्बिया ब्राजिलसँग पराजित भएमा स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्ने छ ।

यदी स्वीट्जरल्याण्ड एक गोलले पराजित भएमा र सर्बियाले बराबरी गरेमा गोल गरेका आधारमा दोस्रो स्थानको टुंगो लाग्नेछ । दुवै टिमको गोल पनि बराबरी भएमा स्वीट्जरल्याण्ड अघि जानेछ किनकी उसले सर्बियालाई हराएको छ ।

समूह एफ

स्वीडेनसँगको खेलमा बराबरी गरेमा मात्रै पनि मेक्सिको अन्तिम १६ मा समूह विजेताको रुपमा जानेछ । जर्मनी दक्षिण कोरियासँग पराजित भएमा भने उ आफ्नै खेलका आधारमा अघिल्लो चरण पुग्नेछ ।

स्वीडेनका लागि भने जर्मनीको भन्दा राम्रो नतिजा अघिल्लो चरण प्रवेशका लागि सार्थक बन्नेछ । यदी मेसिक्कोलाई हराएमा र जर्मनीले दक्षिण कोरियासँगको खेलमा निकालेको भन्दा राम्रो नतिजा निकालेमा स्वीडेन समूह विजेता बन्नेछ ।

दक्षिण कोरियासँगको खेलमा दुई वा त्यो भन्दा बढी गोलका आधारमा जितेमा वा स्वीडेनले मेक्सिकोसँगको खेलमा निकालेको भन्दा राम्रो नतिजा निकालेमा जर्मनी अघिल्लो चरण पुग्नेछ ।

जर्मनी र स्वीडेन दुवैले बराबरी खेलेमा बढी गोल गर्ने टिम अघि जाने छन् । दुवैले बराबर गोल गरेमा भने जर्मनी अघि जानेछ किनकी उसले स्वीडेनलाई हराएको छ ।

दक्षिण कोरियाको सम्भावनाका लागि भने उसले जर्मनीलाई हराउनु पर्नेछ र स्वीडेन मेक्सिकोसँग पराजित हुनु पर्नेछ, त्यो पनि दक्षिण कोरियाको जित भन्दा बढी गोल अन्तरले ।

समूह जी

यो समूहबाट इंग्ल्याण्ड र बेल्जियम छनौट भइसकेका छन् । अब दुवै टिम समूह विजेता बन्नका लागि संघर्षमा छन् । दुवैको गोल अन्तर बराबर छ ।

अन्तिम खेलमा इंग्ल्याण्ड र बेल्जियम बराबरीमा रोकिएमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । इंग्ल्याण्डले दुई तथा बेल्जियमले तीन पहेँलो कार्ड पाएका छन् ।

यदी अन्तिम खेलपछि दुवैको कार्ड संख्या बराबरी भएमा ड्रका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । यो समूहबाट पानामा र ट्युनिसिया भने बाहिरिने पक्का भएको छ ।

समूह एच

जापान र सेनेगललाई अघिल्लो चरण प्रवेशका लागि बराबरी मात्रै काफी छ । जापानले पोल्याण्ड तथा सेनेगलले कोलम्बियासँग खेल्दैछन् ।
कोलम्बियाका लागि सेनेगलसँगको खेलमा जित आवश्यक छ ।

कोलम्बियाले जितेको अवस्थामा जापान सेनेगल भन्दा कम गोल अन्तरले पराजित भएको हुनुपर्छ अघिल्लो चरण प्रवेशका लागि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =