भूकम्प प्रभावितलाई निधर्नले दियो साबुन बनाउने तालिम

“
काठमाडौँ ,असार १०। निर्धन संस्थाले भूकम्प प्रभावितहरुलाई साबुन बनाउने तालिम दिएको छ । विपन्न क्षेत्रका स्थानीयलाई उद्यमी बनाउने प्रयास स्वरुप यसरी तालिम दिइएको थियो ।
काठमाडौंको नक्सालमा कार्यालय रहेको निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुलाई दुई दिने तालिम दिएको हो ।
असार ७ र ८ गते ललितपुरको टिकाथलीमा ‘साबुन बनाउने तालिम’ दिइएको थियो । निर्धन संस्थाकी प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले तालिम दिनुको उद्देश्यमाथि प्रकाश पार्दै विपन्न क्षेत्रमा रहेका महिलाहरुलाई उद्यमी बनाउने आफूहरुको उद्देश्य रहेको बताएकी थिइन् ।
लक्ष्मी राई, सपना भुलुन लगायतले तालिममा सहभागी महिलाहरुलाई साबुन बनाउने तरिका सिकाएका थिए । तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट विष्णुमाया भण्डारी, कल्पना तामाङ्ग, अप्सरा थापा, शान्ति महतले तालिमको मूल्याकंन गरेका थिए ।
साबुन बनाउने तालिम फाइदाजनक रहेको तालिममा सहभागीहरुको धारणा थियो । उनीहरुले आफूहरुजस्ता महिला उद्यमी बन्नका लागि यस्तै तालिम आगामी दिनमा पनि आवश्यक रहेको बताएका थिए ।
प्रशिक्षिका लक्ष्मी राई, ग्लोबल पिस फाउण्डेसनका कार्यक्रम अधिकृत सुस्मित सुनुवार, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड टिकाथली शाखाका प्रमुख बन्दना ज्ञवाली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ठेचो शाखाका प्रमुख हिरा लाल वि.क.ले समापन सत्रमा मन्तब्य दिएका थिए ।
मन्तब्यका क्रममा यस तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर गर्न सुझाएका थिए ।
निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै समापन मन्तब्य दिएकी थिईन् । पन्तले वि.सं. २०४७ मा स्थापित यस निर्धन संस्थाले वि.सं. २०४९ सालमा नेपालमा सर्वप्रथम लघुवित्त कार्यक्रम सुरुवात गरी वि.सं. २०५६ साउन १ गते विधिवत रुपमा लघुवित्त सम्बन्धी सम्पूर्ण वित्तीय कारोवार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपछि मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पीडित महिलाहरुको आर्थिक, सामाजिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, व्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत जानकारी गराएकी थिइन् ।
निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको संयोजनमा संचालन भएको उक्त तालिमको समापन सत्रको संचालन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठले गरेका थिए ।
वि.सं. २०४७ चैत्र १७ गते स्थापित निर्धन संस्थाले नेपालमा पहिलो पटक सुरुवात गरेको लघुवित्त कार्यक्रम २०७४ चैत्र १ गते २५ वर्ष पूरा गरि २६ वर्षमा प्रवेश गरेको छ । निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलाई निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आईरहेको छ ।
यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने सीप सिकेका थिए । यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष कोनाजोले जानकारी गराएका थिए ।
“








