सेनेगलसँग १५ वर्ष अघिको बदला लिने मौका जापानलाई

“
काठमाडौँ । विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियन टोलीको इतिहास जापानले पहिलो खेलमै बनाइसकेको छ ।
समूहको पहिलो एचमा रहेको जापानले कोलम्बियालाई २–१ गोलले हराएको छ । जापानको जीतमा खेलको तेश्रो मिनेटमै सिन्जी काजवाले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको तेश्रो मिनेटमै रेडकार्ड पाउँदै कोलम्बियाका कोर्लस सान्चेज बाहिरिएपछि १० खेलाडीमा सिमित भएको थियो । तर ३९ औं मिनेटमा जुवेन क्वीन्टेरोले गोल गर्दै कोलम्बियालाई बराबरीमा र्पुयाए । तर ७३ औं मिनेटमा युया ओसाकोको गोलमा जापानले जीत दर्ता गरेको थियो ।
यो जीतले जापानले इतिहास त लेखेको छ तर विश्वकपको नकआउट चरणमा पुग्न भने पर्याप्त छैन । जापानले पहिलो पटक दक्षिण अमेरिकी देशलाई हराउन सकेको हो । यसअघिका तीन खेलमा कोलम्बियाले दुईमा जीत र एकमा बराबरी गरेको थियो ।
आइतबार उसले सेनेगलसँग खेल्दैछ । सेनेगलले पनि पहिलो खेलमा पोल्याण्डलार्ई जितेको छ । यी दुई विजेताबीच समूहको दोश्रो चरणमा भेट हुँदैछ । आजको खेलमा विजयी समूहको नकआउट चरणमा जाने संभावना बलियो. हुनेछ ।
तर पराजित समूहको पनि अघिल्लो चरणको संभावना समाप्त भने हुँदैन । अन्तिम खेलमा जापानले पोल्याण्ड र सेनेगलले कोलम्बियासँग खेल्दैछन् । यो समूहबाट नकआउट चरणमा जाने टोलीको टुंगो भने अन्तिम खेलबाट मात्रै लाग्ने छ ।
जापान र सेनेगल अहिलेसम्म एक पटक मात्रै भेट भएका छन् । सन् २००३ मा भएको भेटमा जापानलाई १–० ले पराजित गरेको थियो । १५ वर्षपछि सेनेगललाई इतिहास दोहोर्याउने र जापानलाई त्यो हार मेटाउने अवसर छ ।
जापानको विश्वकप यात्रा
विश्वकपमा यो जापानको छैटौँ सहभागिता हो । उसले सन् २००६ र २०१० को विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको थियो ।
युरोपियन भूमिमा यसअघि भएका विश्वकपमा ६ खेलमा जापान जित बिहीन थियो । त्यसमा पाँच खेलमा हार बेहोरेको छ ।
जापानले दक्षिण अमेरिकी देशलाई विश्वकपमा अहिलेसम्म हराउन सकेको थिएन । दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा जापान तीन खेलमा हारेको छ भने एक खेलमा बराबरी भएको छ ।
जापानले सन् २०१० को विश्वकपमा आफ्नो पहिलो खेलमा क्यामरुनलाई १–० ले हराएको थियो ।यो वर्ष भएका पाँच खेलमा जापान एक खेलमा मात्रै विजयी भएको छ ।
अभ्यास खेलमा जापानले पाराग्वेलाई ४–२ ले हराएको थियो । यस्तै मालीसँग बराबरी गरेको जापान युक्रेन, घाना र स्वीट्जरल्याण्डसँग पराजित भएको थियो । जापान विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकालेको बरियतामा ६१ औँ स्थानमा छ ।
सेनेगलको दोस्रो यात्रा पनि उस्तै दम्दार
दोस्रो पटक विश्वकप खेल्दै गरेको सेनेगल १६ वर्षपछि विश्वकपमा फर्किएको हो । उसले सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसबेला सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा टर्कीसँग पराजित भएर उ घर फर्किएको थियो ।
सेनेगल पहिलो विश्वकप सहभागितामा समूह चरणका खेलमा अपराजित थियो । सन् २००२ मा उसले एक खेल जितेको थियो भने दुई खेलमा बराबरी गरेको थियो ।
त्यो बेला सेनेगलले आफ्नो पहिलो खेलमा फ्रान्सलाई १–० ले हराएको थियो । यस पटक पनि बलियो मानिएको पोल्याण्डलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।
“








