यसरी जान सक्छ अर्जेन्टिना अन्तिम १६ मा

“
असार १०, काठमाडौं । विश्वकप फुटवल प्रतियोगिता २०१८ को उपाधिको दाबेदारका रूपमा हेरिएको अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । अर्जेन्टिना क्रोएसियासँग ३ –० ले पराजित भएसँगै सबैको नजरमा रहेका स्ट्राइकर लियोनल मेस्सीबाट आश मारेका छन् ।
गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको हो । क्रोएसिया भने यो समूहबाट नकआउट चरणमा पुगेको छ ।
अब अर्जेन्टिनाले अघिल्लो चरणमा पुग्न आफुले जितेरमात्र पुग्दैन अरुको खेलपनि हेर्नु पर्ने हुन्छ । समुहको पहिलो खेलमा विश्वकपको नव प्रवेशी आइसल्याण्डले १–१ को बराबरीमा रोकेपछि अर्जेन्टिनाको विश्वकप यात्रा धर्मराएको थियो ।
नाइजेरियाले २ दिन अघि आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेपछि अर्जेन्टिनालाई केहि राहत भएको छ ।
लियाेनल मेस्सी
अर्जेन्टिना पराजित हुँदा बनेको रेकर्ड
१९५८ मा चेकोस्लाभाकियासँग ६–१ ले पराजित भएयता समुहचरणमा अर्जेन्टिनाको यो सर्वाधिक फराकिलो हार हो । अर्जेन्टिनाले १९७४ यता समुहचरणका दुईवटै खेलमा जित निकाल्न नसकेको यो पहिलो अवसर हो ।
क्रोएसियाका लागि विश्वकप फुटबलमा यो तेस्रो फराकिलो जितको नतिजा हो । यसअघि २०१४ मा क्यामरुनलाई ४–० तथा १९९८ मा जर्मनीलाई ३–० ले हराएको थियो ।
क्रोएसियाले १९९८ पछि विश्वकपका ओपनीङ दुबै खेलमा जित निकालेको यो पहिलो अवसर हो । जसमा मुख्य प्रतियोगितामा लुका मोड्रिकले कुल ४ मध्ये २ गोल गरेका छन् ।
अर्जेन्टिनी स्टार लियोनेल मेसीले आइसल्यान्ड विरुद्ध ११ सट प्रहार गरेका थिए । तर क्रोएसियासँग ६४ मिनेटसम्म एउटा पनि सट प्रहार गर्न सकेनन् ।
अर्जेन्टिना अन्तिम १६ मा जाने अवस्था
अवस्था १
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– आइसल्याण्डले नाइजेरियालाई हराएमा
– अर्जेन्टिनाले नाइजेरियालाई फराकिलो गोल अन्तरले हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, आइल्याण्डको ४ र नाइजेरिया अंकविहिन हुनेछ । र गोल अन्तरको आधारमा अर्जेन्टिना उपविजेता हुनेछ ।
अवस्था २
– क्रोएसियाले आइसल्यान्डलाई हराउनुपर्ने
– नाइजेरियाले आइसल्याण्ड हराउनुपर्ने
– अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्ने
यस्तो अवस्थामा क्रोएसियाको ९ अंक, अर्जेन्टिनाको ४, नाइजेरियाको ३ अंक, आइल्याण्डको १ हुनेछ । ४ अंकका साथ अर्जेन्टिना उपविजेता हुनेछ ।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले जुन २६ मा नाइजेरियासँग समुह चरणको अन्तिम खेल खेल्नेछ ।
अहिलेसम्म विश्वकपमा अर्जेन्टिना र नाइजेरिया चार पटक भेट भएका छन् । जसमा अर्जेन्टिनाले चारै पटक जित निकालेकाे छ । २०१४ काे विश्वकपमा अर्जेन्टिनी स्टार लियानल मेस्सीले नाइजेरिया विरूद्ध गाेल गरेका थिए । भने, नाइजेरियाका हालका स्टार अहमद मुसाले पनि गाेल गरेका थिए । अब जुन २६ मा हुने खेलमा यी दुर्इले एक अर्काका विरूद्ध कत्तिकाे गाेल गर्न सक्छन् हेर्न भने बाँकी छ ।”








