प्रधानमन्त्री केपी अाेलीकाे चीन भ्रमण कति उपलब्धी ?

असार, १० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन जोड्ने रेलमार्ग निर्माणबारे हतारमा नभई परिपक्व ढंगले निर्णय गरिने बताएका छन् । ६ दिने चीन भ्रमणबाट आज स्वदेश फर्कदै प्रधानमन्त्री ओलीले नेपाललाई यातायातको क्षेत्रमा ट्रान्जिट पोइन्ट बनाउनेमा कुनै शंका नरहेको बताउँदै ट्रान्जिट प्रोटोकल जुलाईसम्म तयार हुने र त्यसमा सहमति हुने विश्वास प्रकट गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले रेल कनेक्टिभिटीबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको समेत बताए ।

‘यो रेलमार्ग नयाँ प्रयोग मात्र नभई नयाँ प्रविधिको विकास पनि भएकोले परिपक्व ढंगले काम गर्नुपर्ने भएकोले परिपक्व रुपमा काम गर्दा केहि समय लाग्न सक्छ ।’ उनले भने ।–‘हामी सर्वेको काम गरेर केही वर्षभित्र काम सुरु गर्छौँ । चिनियाँ राष्ट्रपति सी जिङ पिङले नेपालमा रेल पुर्याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताउनुभएको छ र संयुक्त बक्तव्यमा पनि यो कुरा उल्लेख छ ।’

भ्रमणका क्रममा दुई देशबीच केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । यसले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीले जिकिर गरे ।

रेलमा कसले लगानी गर्ने विषयमा ओलीले चिनियाँ रेल ल्याउनु पर्नेमा सबैको जोड रहेको तर, कसले लगानी गर्ने भन्ने विषयमा सहमति भईनसकेको बताए । ‘रेल ल्याउनुपर्छ भन्ने सबैको सहमति छ तर, लगानीको मोडालिटीबारे कुनै सहमति जुटेको छैन । नेपालले अनुदानमा बनाउन प्रस्ताव गरेको छ ।’ उनले भने ।

ओलीले चिनियाँ राष्ट्रपति सी जिङ पिङले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् । ओलीले आफ्नो चीन भ्रमण सफल भएको बताउँदै चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताए । उनले भ्रमणका क्रममा पारवाहन र यातायातका सम्बन्धका बारेमा छलफल तथा सहमति भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले विश्व शान्ति, हाम्रो भलाईका लागि छिमेकीसँग इमान्दार सम्बन्ध राख्ने बताए । उनले कसैका बिरुद्ध कुनै कार्ड नखेल्ने बताउँदै इमान्दार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लि खछयाङ, तिब्बतका प्रमुख लगायतका व्यक्तित्वहरुसँग आपसी हितका विषयमा छलफल भएको जानकारी दिए । चीनले नेपालको राजनीतिक स्थायित्वको बारेमा खुसी व्यक्त गरेको बताउँदै उनले सन् २०१६ मा भएको सम्झौताको कार्यान्वयन गर्नेबारे दुबै पक्ष सहमत भएको बताए ।

चीन भ्रमणमा रेल्वे, हवाई, सडकमार्ग, मिडियाको विकासमा सहयोग गर्नेबारे दुबै पक्षबीच सहमति भएको मन्त्री ज्ञवालीको भनाई थियो । चिनियाँ सहयोगमा केरुङ काठमाडौं रेलमार्गको पूर्व अध्ययन सम्भाव्यता छिट्टै सम्पन्न हुने बताउँदै उनले कोसी आर्थिक करिडोर, गण्डकी करिडोर, केरुङ–गल्छी ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माणको सम्झौता भएको बताए ।

साथै चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आह्वान गरेको मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *