‘भ्रष्टाचार विरूद्ध सरकार कठोर हुन्छ’-सञ्चार मन्त्री बास्कोटा

“
काभ्रे,असार ९ । सबैखाले भ्रष्टाचारका विरूद्ध सरकार कठोर हुने सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
देश विकासको आधार तय गर्न भ्रष्टाचारका विरूद्ध सरकारले कडा कदम चाल्दा यसलाई अधिनायकवाद उन्मुख भन्नु लोकतान्त्रिक अभ्यास नभएको भन्दै मन्त्री बास्कोटाले भ्रष्टाचार विरूद्ध सरकार पटक पटक कठोर हुने उद्घोष गरे ।
आज शनिबार काभ्रेको पनौती ८ मल्पीमा निर्माणगरिएको सहिद पार्कको अनावरण गर्दै सञ्चारमन्त्री बास्कोटाले उक्त उद्घोष गरेका हुन् ।
‘जनताद्धारा निर्वाचित शक्तिको आधारमा सरकार चल्छ र त्यो लोकतान्त्रिक हुन्छ । तर भष्ट्रचारविरुद्ध सरकार एक पटक होइन, हजार पटक निर्मम र अधिनायकवादी बन्न सक्छ ।’ उनले संवोधन गर्दै भने, ‘हाम्रो देशमा भ्रष्टाचार सामाजिक मनोविज्ञान जस्तो बन्यो । त्यसलाई समाप्त गरिदिनुपर्छ । यसका लागि सरकार कठोर बन्नसक्छ ।’
जनआन्दोलन २०६२/०६३ को आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद सगुन ताम्राकारको जन्म भूमि पनौतीमा शालिक निर्माण गरिएको छ । उनीसँगै चार सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको समेत शालिक राखिएको छ ।
मन्त्री बास्कोटाले शालिकको उद्घाटन गर्दै भने, ‘राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्थे तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ, संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र सहिद सगुन ताम्राकार बन्नुभएको छ ।’
दोस्रो जनआन्दोलनका क्रममा कलंकीमा प्रहरीले चलाएको गोली लागेर वैशाख ७ गते १९ वर्षीय सगुनको निधन भएको थियो ।
“








