भारत र चीनको रेल अनुदानमा मात्रै ल्याउनु पर्छः कांग्रेस नेता महत

काठमाडौं, असार ९ । नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने,‘नेपालले आँफै रेल निर्माण गर्न सक्दैन्, हाम्रा आफ्नै आन्तरिक आवश्यकत्ताहरु धेरै छन्, ती आवश्यकत्ताहरु पूर्ति गर्नको लागि नै हामीलाई अहिले धौ–धौ छ, यस्तो अवस्थामा आफ्नै लगानीमा रेल निर्माण गर्ने कुरा सुहाउँदैन्, बनाए चिनियाँ अनुदानमा बनाउने हो, ऋणमा त हामीले बनाउन सक्दैनौं, साझेदारीमा पनि बनाउन सक्ने अवस्थामा हामी छैनौं, किनकी हामी ऋण तिर्न सक्दैनौं।’

ओलीको भ्रमणमा खासै नयाँ सम्झौताहरु केहीपनि नभएको उनको जिकिर छ । उनले भने,‘रेलको सम्झौता नयाँ होईन, म परराष्ट्रमन्त्री हुँदाखेरि नै बेल्ट एण्ड रोड ईनिसिएसशनमार्फत सम्झौता गरेको थिएँ, अरुखाले द्धिपक्षीय सम्झौताहरुपनि भएका थिए।’

यद्धपी उनले नेपालमा रेल आउनु राम्रो कुरा भएको बताए । उनले भने,‘तर कसरी आउँछ भन्ने कुरा मुख्य चासोको विषय हो, यसको लागि लगानी ठूलो लाग्छ, झण्डैझण्डै हाम्रो नेपालको एक वर्षको पुँजीगत खर्चभन्दा धेरै लाग्छ, त्यसैले हामीले अहिले आन्तरिक प्राथमिकताहरुमा नै बढि जोड दिनुपर्छ।’

उनले नेपाल सिमित स्रोत र साधन भएको मुलुक भएकोले अहिले आन्तरिक आवश्यकत्ताहरु पूरा गर्नतिर बढि केन्द्रित हुनुपर्ने धारणा राखे ।

नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि रेल बनाउनेबारे नेपालले दुवै देशका नेतृत्वलाई अनुदानमा बनाउन आग्रह गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले भने,‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ, नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन्।’

चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै नेता महतले प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माँग भएका सिमित वस्तुहरु बिना भन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुनुपर्दथ्यो भन्दै त्यसो हुन नसकेकोमा गुनासो पोखे ।

त्यस्तै उनले भ्रमणको दौरान विद्युतमा लगानी गर्ने भन्ने कुरा आएको कोट्याउँदै त्यो लगानी कसरी आउँछ भन्दै प्रश्न समेत गरे । उनले भने,‘कुन शर्तमा चिनियाँ लगानी आउने हो ? पिपिए कसरी गर्ने भन्नेबारे अहिलेपनि स्पष्ट भएको छैन्।’

उनले पटक–पटक रेल निर्माण गर्नु राम्रो कुरा भएपनि यो नेपालले आँफै बनाउन नसक्नेतर्फ सरकारलाई सचेत गराए । उनले भने,‘भारत र चीनबीच नेपाली भूमि भएर व्यापार हुने अवस्थामा अर्थात् नेपालको भूमि भएर चीन–नेपाल–भारत रेल चलाउन सकियो भने नेपालले लाभ लिन सक्छ तर अहिलेको अवस्थामा रेल चलाउनपनि सक्दैन्।’ महतले नेपालले बरु बाह्रै मास चल्ने सडकहरु बनाउन र बनेका सडकहरुलाई स्तरोन्नती गर्नेतर्फ अहिले ध्यान दिनुपर्ने सुझाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =