गोर्खाल्याण्ड आन्दोलनः सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु


असार ३ काठमाडौं । गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।
गोर्खा जनमुक्ति मोर्चाले प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको जनाएको छ । घटनामा दुई समर्थकको मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाका सचिव विनय तामाङले बताएका छन् ।

घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि भएको छैन । सुरक्षा अधिकारीहरुले उनको मृत्यु भएको बताएका थिए । तर, पश्तिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले उनी जिवितै रहेको तर, अवस्था गम्भीर रहेको बताएका छन् ।

यता स्थानीय दार्जीलिङ पोष्ट अखबारले मृतकको संख्या ५ पुगेको बताएको छ । घटनामा दर्जनौं घाइते भएका छन् ।
यता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भने कोलकत्तामा दार्जीलिङका जातीय बार्ढका प्रतिनिधिसँगको छलफलमा गोर्खा जनमुक्ति मोर्चाको आतंकवादी संगठनसँग साठगाँठ रहेको बताएकी छन् ।
मोर्चाको संलग्नता उत्तरपूर्वी भारतका आतंकवादी संगठन र छिमेकी देशहरुसँग समेत रहेको उनको दाबी छ ।








