काँग्रेसमा गच्छदारसँगै भित्रिए ‘गुण्डा नाइके’ लामा
असाेज ३०, काठमाडौँ । कुनै समय गुण्डागर्दीमा निकै चर्चित बनेका ‘कुख्यात डन’ गणेश लामा अब काँग्रेस नेता बनेका छन् । लामा विजयकुमार गच्छदारसँगै काँग्रेसमा आबद्ध भएका हुन् ।
सोमबार बालुवाटारमा भएको एकता सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बसेको आसनभन्दा ठिक पछाडि गणेश लामा बसेका थिए । उनी गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन् । उनले दोस्रो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए ।
विभिन्न विवादमा तानिएका लामा यसअघि गच्छदार गृहमन्त्री रहेका बेला उनको पार्टी निकट पुगेका थिए । त्यही समयदेखि उनी फोरम लोकतान्त्रिक निकट रहेर राजनीतिक गरिरहेका छन् । लामा फोरम लोकतान्त्रिकबाट काभ्रे—२ बाट दोस्रो संविधानसभामा सभासदको उम्मेदवार बनेका थिए । उनलाई यसअघि सम्पत्ति शुद्धीकरण विभागले अकूत सम्पत्ति कमाएको भन्दैं विशेष अदालतमा मुद्दा दायर गरेको थिए । जसमा उनी करोडौ रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका थिए ।