धरानमा महाविर पुनसँग अन्तरक्रिया हुँदै

“
धरान, असार ६ । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरुले आज (बुधबार) ‘एक्स टेक स्टुडियो सिजन वान’ कार्यक्रम गर्दैछन् ।
धरान ८ पूर्वाञ्चल क्याम्पस स्थित इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङ विद्यार्थी समाजका बिद्यार्थीहरुद्धारा आयोजना गरिएको ईलेक्ट्रोनिक्सका आधुनिक प्रवधिबाट घरलाई कसरी सजावट गर्न सकिन्छ भन्ने कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र नेपालका कार्यकारी प्रमुख महाविर पुनसँग छलफल गर्न लागिएको हो ।
तार विहिन प्रविधिबाट नेपालको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व महावीर पुन एशियाको नोबेल पुरस्कार भनेर चिनिने रोमन म्याग्सेसे अवार्ड जित्ने पहिलो नेपाली समेत रहेका छन् ।
पुनले सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना समेत गरिसकेका छन् ।
कार्यक्रममा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस इलेक्ट्रानिक विषयमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न समूह बीच स्मार्ट कोठा बनाउने प्रतियोगिता प्रदर्शनी समेत गरिने भएको छ । प्रतियोगितामा जुन समूहले उत्कृष्ट स्मार्ट कोठा बनाउँछ सोही समुहलाई विजयी घोषणा गरी पुरस्कृत समेत गरिने सोसाइटीका अध्यक्ष बैकुण्ठ आचार्यले जानकारी दिएका छन् ।
स्मार्ट कोठामा इन्टरनेटको प्रयोग गरी मोबाइलबाट नै कोठामा भएका पंखा, फ्रिज, टेलिभिजन जस्ता इलेक्ट्रोनिक्स सामानहरु नियन्त्रण गर्न सकिने उनले जानकारी दिएका छन् ।
“








