पार्टी एकिकृत भएर अगाडी बढ्नुपर्नेमा जोड

“
काठमाडौं, असार ५ । राप्रपा (प्रजातान्त्रिक) र राष्ट्रीय प्रजातन्त्र पार्टीको एकता सम्बन्धि कार्यदलको संयुक्त बैठकमा बर्तमान अवस्थामा पार्टी एकिकृत भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
राप्रपा (प्रजातान्त्रिक) बरिष्ठ उपाध्यक्ष तथा कार्यदल संयोजक दीपक बोहराले एमाले–माओवादी विचको एकताले बामपन्थी दलहरुलाई बलियो बनाएको र प्रजातान्त्रिक शक्तिहरु कमजोर भएको अवस्थामा पार्टी एकीकरण गरेर संगठन विस्तार र सुदृढिकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
आज बसेको दुई पार्टीको संयुक्त कार्यदलमा बोल्दै कार्यदल संयोजक बोहराले प्रजातान्त्रिक शक्तिहरु एक भएर बैकल्पिक शक्तिका रुपमा स्थापति हुँदै कम्युनिष्ट अधिनायकवाद र एकाधिकारको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘जनताको चाहना र हाम्रा एजेण्डा विच देखिएको भिन्नतालाई चिर्दै पार्टीलाई एक ढिक्कामा अगाडी बढाउने हो भने, हामी अझैपनि कमजोर भएका छैनौं, सबैले आ–आफ्ना स्थानबाट कमिकमजोरी सच्याएर अगाडी बढ्न जरुरी छ ।’ उनले भने ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष एवं कार्यदलका संयोजक बुद्धिमान तामाङले निर्वाचनको समिक्षा गर्दै पार्टी एक भएर जानुको विकल्प नभएको धारणा राखे । उनले विगतका कमजोरीलाई समिक्षा गर्दै ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा दुबै तर्फका कार्यदलका सदस्यहरू बिक्रम पाण्डे, ठाकुर प्रसाद शर्मा, राजेन्द्र लिङ्देन र टंक ढकालले पार्टी एकीकरणका विषयमा धारणा राखेका थिए । कार्यदलका सदस्य एवं राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनिल बहादुर थापा भने राजधानी बाहिर भएकोले बैठकमा सहभागी हुन सकेनन् ।
बार्ताको लागि कार्यदलको अर्को बैठक छिटै बस्ने राप्रपा बार्ता समितिका संयोजक बुद्धिमान तामाङले बताए ।
“








