संस्मरणमा जेल जीवन: लोकतन्त्र पुर्नबहालीको दस्ताबेज

“
शुक्रवारको दिन थियो, नचिनेको नम्बरबाट मोबाइलमा फोन आयो । ‘हेल्लो….भान्जा नमस्कार, म दीपक मामा ! के छ हाल खबर ! म समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिमा छु, तपाइसँग भेट गर्न मन छ, आउनुस् एक पल्ट ।’
काभ्रे मण्डन देउपुर धाइटारका दीपक प्रसाद पौडेल मामाले एकै स्वरमा भन्नुभयो । ‘हुन्छ मामा म ३ बजेतिर आउँछु नि !’ भनी नसक्दै उहाँको स्वीकारोक्ति आयो ।
कार्यालयमै साँढे तीन भएछ, ‘ओहो ! मामाले पो फोन गर्नुभएको थियो !’ हत्तार हत्तार सिंहदरबार तिर लागेँ ।
सिंहदरबार भित्र पुगेर एकाध व्यक्तिलाई सोधेपछि पत्ता लाग्यो । राष्ट्रिय योजना आयोगको भवन पछाडि रहेछ, समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय । मामा आफ्नै कार्यकक्षमा मलाई नै पर्खेर बस्नुभएको रहेछ । उहाँसँगै एक जना पूर्व सभासद् पनि हुनुहुँदो रहेछ, सामान्य हालखबर सोधासोध भयो ।
यसै सिलसिलामा समितिले गर्दै गरेका कामका बारेमा मलाई सामान्य जानकारी दिनुभयो । उहाँ समितिमा सहकारी विज्ञका रूपमा आउनु भएको रहेछ, देशभर हज्जारौं सहकारी पीडितको उजुरी आएको, छानबिन हुँदै गरेको तथा सहकारीबाटै अरबौं ठगी गरेका सुधीर बस्नेतका विषयमा पनि काम भइरहेको जानकारी गराउनु भयो ।
लामो समयदेखि सहकारी आन्दोलन र अभियानमा अनवरत रूपमा लाग्नु भएका दीपक प्रसाद पौडेललाई सरकारले सहकारी विज्ञ सदस्यका रूपमा मनोनीत गरेर ठिकै काम गरेछ जस्तो लाग्यो ।
सामान्य कुराकानी पछि मामाले मलाई बोलाउनु भएको कुराको चुरो खोल्नु भयो । ‘भान्जा म पनि सामान्य लेख्ने कोसिसमा लागि रहेको छु, किसान आन्दोलनका विषयमा पुस्तक लेखेँ, सहकारीका विभिन्न लेख प्रकाशित गरे, गत मङ्सिरमा २०६२/०६३ को जनान्दोलनमा मैले भोगेको जेल जीवन र तत् सम्बन्धी आफ्ना अनुभवलाई समेटेर पुस्तक निकालेको छु,‘संस्मरणमा जेल जीवन’ तपाईँले अध्ययन गरेर कमीकमजोरी औँल्याई दिनुस्, अर्को पुस्तक लेख्दा मलाई सहज हुन्छ’ भन्नु भयो ।
नाताले छिमेकी मामा, त्यसमाथि जनान्दोलन ०६२/०६३ का विषयमा भनेपछि आफूले लोकतन्त्र स्थापनाका लागि निर्वाह गरेको भूमिका याद आयो, आनाकानी गर्न सकिन ‘हुन्छ मामा, तर, ढिलो चैँ हुन्छ ।’ भने ।
उहाँले कुनै पावन्दी नदिईकन, ‘तिम्रो स्वविवेक प्रयोग गर, मलाई हौसला हुन्छ’ भन्नुभयो । अनि पुस्तक झोलामा हालेर बिदावारि भएर कार्यालय आएँ ।
आउने बित्तिकै झोलाबाट पुस्तक निकालेँ, कभरमा उहाँकै सानो काठको कुर्सीमा जेल भित्र झ्यालको मधुरो प्रकाशमा एउटा हातमा नोट बुक र अर्को हातमा कलम लिएर केही सोच्दै बसेको चित्र बनाइएको रहेछ ।
साथमा कभरमा लेखिएको थियो ‘संस्मरणमा जेल जीवन, लोकतन्त्र पुर्नवहालीका लागि खर्चिएका दिन’ कभर राम्रो लाग्यो । कभरको भित्री पृष्ठमा ०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले दलहरूमाथि प्रतिबन्ध लगाएपनि त्यसपछि नेपाली काँग्रेस, एमाले लगायतले सोको विरुद्ध चालेको रिले अनशनमा सहभागी हुँदाको फोटोहरू राखिएको रहेछ ।
पानाहरू पल्टाउँदै गए, डा. तुलसी भट्टराईले भूमिका लेखिदिनु भएको रहेछ । उहाँले नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाले २००३ साल देखि २०३९ सालसम्म प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको कुरा गर्दै, ०४२ सालको सत्याग्रह, ०४६ सालको जनान्दोलनलाई कोट्याउँदै लेखक दीपक प्रसाद पौडेललाई जोड्नु भएको रहेछ ।
दीपक प्रसाद पौडेल नेपाली काँग्रेस प्रति आस्थावान, वीपीको सिद्धान्त र आदर्शका अनुयायी, ०४६ सालको जनआन्दोलनका अथक योद्धाका रूपमा चित्रित गरिएको छ, हो पनि ।
इतिहास जित्नेहरुका लागि मात्र लेखिन्छ । दीपकप्रसाद पौडेलको ‘संस्मरणमा जेल जीवन’ले पनि जित्नेहरुलाई लिपिबद्ध गरेको छ । २०५९ सालपछि तत्कालीन राजा ज्ञानेन्द्रको कूशासन विरुद्ध लोकतन्त्र, प्रजातन्त्रका हिमायतीका पक्षमा लेखेको छ ।
पौडेलले यस पुस्तकमा २०६१ साल फाल्गुन ७ गतेदेखिका प्रजातान्त्रिक आन्दोलनमा आफूले भोगेका, आफूसँगै जेल जीवन ब्यतित गरेका तमाम योद्धाहरुको दैनिकीलाई मात्र समेटेका छैनन्, लोकतन्त्र पुर्नवहालीका लागि तत्कालीन दलहरूले खेलेको भूमिकालाई समेत उजागर गरेका छन् ।
दीपक प्रसाद पौडेलका बारेमा भन्नुपर्दा सहकारी अभियानकर्मी, किसान आन्दोलनका योद्धाका रूपमा चिनिन्छ । सामान्य किसान परिवारबाट राजनीति गर्दै लाेकतान्त्रिक किसान अान्दाेलन, सहकारी अभियानलार्इ एक साथ अगाडी बढाइरहेका छन् । त्यो भन्दा बढी उहाँलाई नेपाली काँग्रेसका सक्रिय योद्धाका रूपमा लिइन्छ ।
अब, पुस्तकका भित्री कुरा तिर जाऊँ
राजा ज्ञानेन्द्रको ‘कू’ का विरुद्ध काँग्रेस, एमाले लगायतका दलहरूले आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनरत दलहरूले राजधानी काठमाडौँको रत्नपार्कलाई प्रमुख स्थल बनाएका थिए । लेखक पनि नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहेकोले आन्दोलनबाट विमुख हुने कुरा भएन ।
काभ्रे मण्डनदेउपुर धाइटार स्थायी घर भएका लेखक पनि २०४६ सालमा निरंकूश पञ्चायती व्यवस्थाबाट खोसेर ल्याएको प्रजातन्त्रलाई पुनर्स्थापित गर्ने महासँग्राममा होमिने प्रतिज्ञा सहित २०६१ फाल्गुन ७ गते (प्रजातन्त्र दिवस) शुक्रवारका दिन राजधानी छिरे । जुन दिन निरंकुशताका पक्षधरहरू प्रजातन्त्रकाे घाँटी अँठ्याएर प्रजातन्त्र दिवस मनार्इरहेकाे नाटक मञ्चन गरिरहेका थिए ।
१२ बजे राजधानी छिरेका उनी आफ्ना सहकर्मीहरूसँग सिधै रत्नपार्क गएका छन् । निरंकूशताका विरुद्ध नारा लगाएका छन् र, त्यही नारा लगाउने क्रममै प्रहरीको फन्दामा परेका छन् ।
‘संस्मरणमा जेल जीवन’ मा त्यसपछि उनले ४३ दिनसम्म राजधानीका विभिन्न स्थानमा बन्दी जीवन ब्यतित गर्दै भोगेका अनुभव, अनुभूतिलाई दैनिकीका रूपमा व्याख्या गरेका छन् । यस हिसाबले यो पुस्तकलाई सरसर्ती अध्ययन गर्दा लेखकले ४३ दिनसम्म भोगेको जेल जीवनको सृंखलाका रूपमा बुझिएपनि यहाँ लोकतन्त्र पुर्नवहालीका विषय र आयामलाई समेत समेटिएको छ । लेखक पाैडेलसंगै १ सय ३९ जनालार्इ तत्कालिन सरकारले भक्तपुर खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणकाे तालिम केन्द्रमा ४३ दिनसम्म नजरबन्द गरेर राखेकाे थियाे ।
यो दैनिकी जस्तो भए पनि यसले तत्कालीन समयको इतिहास, आन्दोलनको स्वरूप, तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ शासन, आन्दोलनरत दलहरूले लिएको रणनीतिका विषयमा समेत बोलेकोले महत्त्वपूर्ण पुस्तक भएको छ ।
पुस्तकमा लेखकले नरजबन्दमा रहँदा त्यहाँ सहकर्मी योद्धाहरुविच हुने व्यवहार, छलफल र निष्कर्षलाई समेत समेट्ने प्रयास गरेका छन् । ४३ दिनसम्म राजनीतिक आस्थाका बन्दीहरूलाई एउटा कैदीको जस्तो व्यवहार गर्दा त्यहाँ उत्पन्न परिस्थिति झल्काइएको छ ।
त्यहाँको निरशता, रोमाञ्चकता, अन्यौलता, पारिवारिक बिछोडले उब्जाएको मानसिक, शारीरिक समस्यालाई समेत लेखकका मात्र हैन अन्य सहकर्मी योद्धाका समेत वस्तुस्थिति लिपिबद्ध गरिएको छ ।
उनी नजरबन्दमा छन्, तर, देशका हरेक क्षेत्रमा भएका निरंकूशता विरोधी आन्दोलनबाट परिचित हुने प्रयास गरेका छन्, यसका लागि उनले तत्कालीन समयमा प्राप्त हुने सूचना र सञ्चारक्षेत्रबाट प्रकाशित प्रशारित सामग्रीलाई मुख्य हतियार बनाएका छन् ।
उनी बन्दी छन्, तर, समाचार पढ्दै गर्दा, रेडियो सुन्दै गर्दा देशमा भइरहेको राजनीतिक घटनाक्रममा जुनसुकै स्थानमा पुगेका छन् । अन्तर्राष्ट्रिय घटनाक्रममा पनि जोडिएका छन् । यस प्रकारको लेखाइले पुस्तक दस्ताबेज पनि बनेको छ ।
बन्दी जीवनले लेखकलाई अध्ययनशिल बनाइदिएको मात्र छैन, दैनिक जीवनमा घट्ने घटनाक्रमलाई लिपिबद्ध गर्नुपर्छ भन्ने सोचको विकास पनि गरिदिएको छ ।
लेखक नेपाली काँग्रेसका सक्रिय योद्धा,स्व. वीपी कोइरालाका अनुयायी लोकतन्त्र र प्रजातन्त्रप्रति आस्थावान भए पनि बन्दी जीवनमा उनले कम्युनिस्ट विचारधाराका सहयात्रीलाई उत्तिकै सम्मान गरेका छन् । उनीसँगै पक्राउ परेका आस्थाका बन्दीहरूले समेत लेखकको प्रशंसा गर्नु, जेल जीवनमा सबै आस्थाका बन्दीसँग मित्रवत् व्यवहार गर्नु उनकाे गुण देखिएको छ ।
लेखकले बन्दी जीवनमा राजाका गुणगान गाउने प्रहरी प्रशासनका मतियारलाई चिन्ने प्रयास मात्र गर्नुभएको छैन, लोकतन्त्र प्रति विश्वास राख्ने र देशमा राजनैतिक, आर्थिक, सामाजिक परिवर्तन खोज्ने प्रहरी प्रशासनले लोकतन्त्र पक्षधरलाई भित्री रूपमा सहयोग गरेको कुरा पनि प्रष्ट्याएका छन् ।
लोकतन्त्र पुर्नवहालीको ४३ दिने बन्दी जीवनमा लेखक र उनका सहकर्मी साथीहरूको मनोभावना, दैनिकीलाई पुस्तकले छर्लङ्ग बनाएको भए पनि पुस्तकमा भएका केही कमीकमजोरीलाई मैले नियाल्नै पर्छ ।
त्यसैपनि लेखकले मलाई ‘तिम्रो स्वविवेक प्रयोग गर’ भनेका थिए ।
हुन त म त्यस्तो धुरन्धर साहित्यको समीक्षा गर्ने, अक्षरका पत्रपत्र केलाउने मुर्धन्य हैन तथापि, थोरबहुत शब्दहरू केलाउन सक्छु । दीपक प्रसाद पौडेलले लोकतन्त्र पुनर्बहालीका लागि खर्चिएका ४३ दिनलाई सरसर्ती केलाउँदा, पढ्दा केही कमजोरी केलाउने दृढता गरेको छु ।
पुस्तकका सबल पक्ष
क) आजकल साहित्यका विद्वानहरुले सामान्य लेखपढ गर्नेले पढ्न सक्ने पुस्तक लेख्नै छाडिसके । आफूलाई साहित्यका प्रणेता मान्नेहरुले लेखेका रचनाहरूमा घुसाइएका शब्दहरूको अर्थ बुझि नसक्नु हुन्छ । त्यस्ता पुस्तकहरूसँगै नेपाली शब्द कोषको ठेली साथैमा लिएर पढ्नुपर्छ ।
ती पुस्तकहरू माझ ‘संस्मरणमा जेल जीवन’ का शब्द चयन, उच्चारण सामान्य, जनजीवनमा प्रयोग हुने शब्द भएकाले सबै नेपाली भाषीले सहजरुपमा बुझ्ने छ । सामान्य भाषाकरण पुस्तकको सबल पक्ष हो ।
ख) आजकल दैनिकी लेख्ने चलन हराउँदै गएको छ । हाम्रो चलायमान जीवनमा दैनिकरुपमा सामान्य देखि असामान्य घटना घटिइरहन्छन् । त्यस्ता घटनालाई संस्मरण गर्न दैनिकी लेख्ने अभ्यास गरियो भने, त्यो भोलिका नयाँ पिढिका लागि इतिहास बन्न जान्छ । तर, आजको मोबाइल र इन्टरनेटको दुनियाँमा हराउने पुस्ताहरूमा दैनिकी लेखन अभ्यासको पुर्सदै कहाँ छ र ? सबै गुगल र युट्युवको भरपर्न थालेका छन् । तिनीहरूलाई के थाहा गुगल र युट्युवले मानवीय संवेदना देखाउन सक्दैन भनेर । त्यहाँ त कसैले हालिदिएको, राखिदिएको, बनाइदिएको कुरा मात्र आउने हो ।
लेखकको यो ४३ दिने दैनिकीले इतिहासको एउटा घटनाक्रमलाई वर्णन गरेको छ ।
ग) मैले माथि नै भनिसकेँ इतिहास जित्नेहरुको लेखिन्छ । हो, लोकतन्त्र पुनर्बहालीका लागि लेखकको भूमिका अनुकरणीय छ । यस्ता हज्जारौं सपुतहरु थिए, जसले लोकतन्त्र, गणतन्त्र तथा देश र जनताका लागि बलिदान दिए । अब तिनको योगदान र बलिदानीलाई पनि हामीले इतिहासमा स्वर्णिम अक्षरले लेख्न जरुरी छ ।
त्यसका लागि यो पुस्तक उदाहरणीय छ । लेखकले यो पुस्तकमा आफ्ना मात्र हैन, एउटै थालमा खाएका, ४३ दिनसम्म एउटै बिस्तरामा सुतेका लोकतन्त्रका हिमायतीलाई जीवन्त राख्ने काम गरेका छन् । तसर्थ यो पुस्तक ती तमाम बन्दीहरूको इतिहास झल्काउने कृति हो । तमाम आस्थाका बन्दीहरूको साझा रचना हो, जसले लोकतन्त्र पुनर्स्थापनाका लागि आफ्नो प्राणको बाजी लगाए ।
दुर्बल पक्ष
भनिन्छ मानिस प्रशंसा गर्दा खुसी हुन्छ, गाली गर्दा दुःखी हुन्छ । लेखक दीपक प्रसाद पौडेलका हकमा पनि त्यही लागू होला नहोला उहाँको स्वविवेकमा भर पर्छ ।
इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डलाई जीवितै बनाउने महान् कर्म चाल्दै गर्दा ‘संस्मरणमा जेल जीवन’ को अवयव केलाउँदा मेरो नजरले केही त्रुटि देखेको छ । अरूको नजरमा नहुन पनि सक्छ । त्यसैले त गायिका आनी छोइङ्गले भनेकी छिन् ‘फुलको आँखामा फुलै संसार, काँडाका आँखामा काँडै संसार’ मानिसकाे साेच उसकाे हेर्ने नजरबाट प्रष्ट हुन्छ ।
क) साजसज्जामा खोट लगाउने खासै ठाउँ देखिन, कभरले लेखकलाई हाइलाइट गरेको छ । गुलाफको बोटमा काँडा हुन्छ, साथमा सुन्दर फुल पनि त हुन्छ, जसले प्रेमको वासना फैलाइरहेको हुन्छ । संस्मरणमा जेल जीवनको बाहिरी आवरण हैन हामीले त्यहाँ भित्रको गुणलाई हेर्न आवश्यक छ । तथापि, भन्नुपर्छ साजसज्जामा डिजाइनरले केही मेहनत गरेको भए सुनमा सुगन्ध हुनेथियो ।
ख) शुद्धाशुद्धि, लेखकले हतारहतार नोटवुकमा लेखेका कुरालाई लिपिबद्ध गरेको आभास हुन्छ । भाषिक त्रुटि त छँदै छ, कतिपय अवस्थामा शब्द चयनमा कमजोर भएको छ ।
ग) पुस्तक सरसर्ती अध्ययन गर्दा यो दैनिकी नै हो, ‘बिहान ५ बजे उठेँ, शौचालय गएँ, आज सन्चो भएन, तातोपानी खाएँ, नुहाँए, यति बेला खाना खाएँ, खाजा खाएँ……आदी इत्यादि कुराले पाठकलाई दिक्दार बनाउँछ । त्यसको सट्टामा बिहानको नित्यकर्म गरेँ, जस्ता धेरै कुरा बोल्न सक्ने एकै शब्द राखेको भए, पुस्तक १८८ पृष्ठको बन्ने थिएन । भने, पाठकलाई पनि ४३ दिनसम्म एउटै गन्थनमन्थन पढ्नुपर्ने झन्झट हुँदैनथ्यो । बरु, पुस्तकमा लेखकले बन्दी जीवन पछिका मनोभावलाई उठान गरेको भए, पुस्तकको सार्थकता बढ्थ्यो । इतिहासमा समेट्न सकिने केहि दस्तावेजलार्इ अाैल्याएकाे भए पुस्तक संग्रहणीय हुने थियाे ।
अन्तमा,
संस्मरण लेखकको ४३ दिने दैनिकी हो, बन्दी जीवनमा भोगेका दैनिक क्रियाकलापको फेहरिस्त हो । सँगै २ सय ४० वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्था विरुद्ध उर्लिएको मनोभाव हो । यो १० वर्षसम्मको जनयुद्धको पूर्णविराम, लोकतन्त्र पुनर्बहालीको यात्राको भाग पनि हो । तसर्थ, लेखकले ४३ दिनको जेल जीवनलाई जसरी लिपिबद्ध गर्ने आँट गरे, त्यो नै सुन्दर पक्ष हो ।
हाम्रो समाज सकारात्मक कुरालाई ढाकछोप गर्ने अनि नकारात्मक कुरालाई झ्याली पिट्ने गर्छ । मैले पुस्तकको विषयमा लेख्दा यही समाजको प्रतिनिधित्व गरेको हुनसक्छु । मैले नकारात्मक टिप्पणी गर्दा लेखकको मेहनत र सृजनालाई निमोठ्ने दृढता गरेको हुन सक्छु ।
काम अर्हाउन सजिलो हुन्छ गर्न गाह्रो । लेखकको स्थानमा म बसेर हेर्दा पक्कै यो कृति मेरा लागी सहज हैन । लेखकले इतिहासको एउटा महत्त्वपूर्ण कालखण्डलाई उजागर गर्ने, लिपिबद्ध गर्ने काम गरेका छन् । यो अत्यन्त सर्हानीय कुरा हो ।
आगामी दिनमा उहाँका अन्य कृतिपनि पढ्न पाइयोस, उत्तरोत्तर उन्नति प्रगतिको शुभकामना ।
“








