भारतीय ट्रक छोड्नुपर्ने माग गर्दै प्रदर्शन, नेपालगञ्ज भन्सार ठप्प

बाँके, कात्तिक १४ । गत शनिबार राति भन्सार नतिरी सामान नेपाल ल्याएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको बिरोधमा एजेन्टहरुले मंगलबार नेपालगञ्ज भन्सार अगाडी प्रदर्शन गरेका छन् । भन्सार छलेर गत शनिबार मध्यरातमा नेपाल भित्रिएको भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि छोडनुपर्ने माग गर्दै एजेन्टहरुले मंगलबार भन्सार अगाडी प्रदर्शन गरेका हुन । जसका कारण नेपालगञ्ज भन्सारको सबै काम ठप्प भएको छ ।
दुबै देशका एजेन्टले भुलबस प्रज्ञापनपत्र विना नै भारतीय ट्रक नेपाल भित्रिएकाले छोड्नुपर्ने माग गर्दै भन्सार ठप्प बनाएका हुन । सीमा क्षेत्रमा रहेको सुरक्षा चेकजाँचलाई झुक्याउँदै भन्सार कार्यालयको जानकारी बिना नै भारतीय ट्रक भन्सार नगरिएको लाखौको सामान लिएर नेपालगञ्ज भित्रिएको थियो ।
शनिबार राति करिब साढे ११ बजेको समयमा अबैध सामान भित्रिएको सूचना पाएसंगै खटिएको संघीय प्रहरी इकाइ कार्यालय नेपालगञ्जको प्रहरी टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । यूपी ३६ टी ७३०७ नंम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसंधान अघि बढाएको छ ।








