विश्वकपः समूह सी को पहिलो खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्दै

काठमाडौँ, असार २ । आज हुने समूह सी र डी का पहिलो चरणका खेलहरु मध्ये अहिले फ्रान्स र अस्ट्रेलियाबिचको खेल सुरु भएको छ । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे देखी फ्रान्स र अस्ट्रेलियाबिच खेल हुँदैछ ।

विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ । दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि दावेदारको रुपमा हेरिएको छ ।

सानो युरोपली मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो । आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ९ वजे सुरु हुनेछ । आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।

शनिबार फ्रान्सविरुद्ध हुने विश्वकपको समूह सीको पहिलो खेलअघिको पत्रकार सम्मेलनमा अष्ट्रेलियाली टोलीका कप्तानसमेत रहेका केहिलले भने, ‘विश्वकप भनेको ड्रेस रिहर्सल होइन, यो ठूलो नृत्य हो । यो यस्तो ठाउँ हो जहाँ तपाईंले एक कदम अघि रहेर खेल्नुपर्छ ।’

प्लेयर्स टू वाच
एन्टोइन ग्रिजम्यान, फ्रान्स
एट्लेटिको मड्रिडका स्टार आगामी सिजन बार्सिलोना जाने चर्चा चलिरहेको छ । यद्यपी पारिवारिक दवावका कारण उनी बार्सिलोना नजाने कुराहरु पनि आएका छन् । तर, आफ्नो ट्रान्सफरको कुरामा भन्दा पनि ग्रिजम्यान अहिले फ्रान्सेली टिमको राम्रो प्रदर्शनमा केन्द्रित हुनेछन् ।

फ्रान्सलाई सन् २०१६ को युरोमा फाइनलसम्म पुर्याउने ग्रिजम्यान यस सिजन पनि निक्कै राम्रो लयमा छन् । उनकै प्रेरणामा एट्लेटिकोले यस सिजन युरोपा लिग जितेको थियो ।

मार्सेलीविरुद्धको फाइनलमा उनले ३ गोल गरेका थिए । काउन्टर एट्याकमा उनको क्षमता अतुलनीय छ र फ्रान्सले उनीबाट त्यस्तै अपेक्षा पनि गरेको छ । सन् २०१४ मा फ्रान्सेली टोलीमा डेब्यू गरेयता उनले ५४ खेलमा २० गोल गरेका छन् । सन् २०१४ को विश्वकपका ५ खेलमा उनले गोल गर्न सकेका थिएनन् । रुसमा गोल गरी उनी विश्वकपमा गोलको खाता खोल्न चाहन्छन् ।

टिम केहिल, अष्ट्रेलिया
अष्ट्रेलियाली टोलीका मुख्य हतियार टिम केहिल नै हुन सक्छन् । तर, हर्डर्स्फिल्ड टाउनका मिडफिल्डर आरोन मूय राष्ट्रिय टोलीबाट विपक्षीका लागि खतरनाक बन्न सक्छन् । २७ वर्षीय मूयले हडर्स्फिल्ड टाउनलाई प्रिमियर लिगको रेलिगेसनबाट जोगाउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

राष्ट्रिय टोलीबाट सन् २०१२ मा डेब्यू गरेयता उनले ३४ खेलमा ५ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *