कम्युनिस्टलाई हेप्ने दिन गए, घुर्कि लाउनु पर्दैन गए हुन्छ– योगेश भट्टराई

“
काठमाडौँ, असार १ । काँग्रेस नेता एवम् प्रतिनिधिसभाका सदस्य डा. मीनेन्द्र रिजालले संसदको बिहिबारको बैठकमा कम्युनिस्टहरुलाई संसद छोडेर जाने चेतावनी दिएको एक दिन नबित्दै नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले यसको जवाफ दिएका छन् ।
बिहिबारको संसद बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले कम्युनिस्टहरुले काम गर्ने मन छ कि छैन, जेल जाने हो भन्दै तर्साउन थालेको आरोप लगाउँदै संसद छोडेर जाने भन्दै चेतावनी दिएको भोलिपल्ट यानिकी आज नेकपाका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले काँग्रेसलाई संसद छोडेर जान मन भए गए हुने जवाफ दिएका हुन् ।
प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई शुक्रबार नेकपा कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भट्टराईले भट्टराईले भने– एकपटक सत्ता बाहिर पुग्दा कांग्रेस छटपटाएको छ । संसद छाड्ने घुर्की दिइँदैछ । घुर्की देखाउनु पर्दैन, संसद छाड्न मन लागे छाडे हुन्छ, केही फरक पर्दैन, ढोका खुल्ला छ ।
बिहीबार संसद् बैठकमा कांग्रेस नेता रिजालले कम्युनिस्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए ।
भट्टराईले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप समेत लगाए । उनले भने, ‘हामीले बिर्सिएका छैनौं, विगतमा कांग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो । अब कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गए ।’
कांग्रेसले अहिले सरकारका हरेक क्रियाकलापमा अधिनायकवाद देख्न थालेको भन्दै भट्टराईले विगतमा कांग्रेसले कतिपटक अधिनायकवाद देखायो भन्ने हिसाबकिताब आफूहरुसँग रहेको बताए ।
नेकपा एकीकरणपछि ती पार्टीनिकट पत्रकारका संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त बैठक आज अपराह्न बस्दैछ । बैठकलाई अध्यक्षद्वय केपी शर्मा अोली र प्रचण्डले सम्बोधन गर्दैछन् ।
“








