ठूलो र भव्य प्रतिस्पर्धा: स्पेन भर्सेस पोर्चुगल

काठमाडौँ, असार १ । विश्वकप फुटलबमा शुक्रबार निकै ठूलो र भव्य प्रतिस्पर्धा हुँदैछ, स्पेन भर्सेस पोर्चुगल । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि सुरु हुनेछ ।

समूह बी मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् र उनीहरु महादेशीय प्रतिस्पर्धाका विजेता पनि । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । उसले दुई वर्षअघि युरोकपको उपाधि जितेको हो ।

स्पेनसँगको भव्य खेलका लागि तयार रहेको पोर्चुगलले टिमका खेलाडी सबै फिट रहेको बताइएको छ । यस्तै स्पेनिस टिममा पनि सबै राम्रा छन् । ड्यानिएल कारभाहाल चोटबाट मुक्त भएर बिहीबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ । स्पेनको टिममा धेरै स्टार खेलाडी छन् ।

तुलनात्मक रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।

रियल मड्रिडका दुई साथी खेलाडी रामोस र रोनाल्डो यो खेलमा आ–आफ्नो देशको कप्तानी गर्दै मैदानमा हुनेछन् ।

हेड टू हेड

स्पेन र पोर्चुगलबीच अहिलेसम्म ३५ पटक भेट भएको छ र इतिहास स्पेनको पक्षमा छ । यी खेलमा स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगल मात्रै ६ खेलमा जित निकाल्न सफल भएको छ । १३ खेल बराबरीमा सकिएका छन् ।

विश्वकपमा भने यी दुई बिच मात्रै एक पटक भेट भएको छ । सन् २०१० को अन्तिम १६ मा भएको भेटमा स्पेन १–० ले विजयी भयो ।

स्पेन र पोर्चुगलको टिममा च्याम्पियन्स लिग जितका ४३ खेलाडी छन्, स्पेनको टिममा ३४ र पोर्चुगलको टिममा ९ ।

पोर्चुगल

पोर्चुगल इतिहासमै पहिलो विश्वकप उचाल्ने लक्ष्यसहित रुस पुगेको छ । उ लगातार युरोकप र विश्वकप जितेर त्यस्तो कीर्तिमान बनाउने चौथो देश बन्न चाहन्छ । यसअघि यो काम पश्चिम जर्मनी, फ्रान्स र स्पेनले गरेका छन् ।

पश्चिम जर्मनीले सन् १९७२ मा युरोकप तथा १९७४ मा विश्वकप, फ्रान्सले १९९८ मा विश्वकप तथा २००० मा युरोकप तथा स्पेनले २००८ मा युरोकप तथा २०१० मा विश्वकप जितेका थिए ।

पोर्चुगल सन् २०१६ मा फ्रान्सलाई हराएर युरोपियन च्याम्पियन बनेको थियो ।

पोर्चुगलका कप्तान क्रिष्टियोनो रोनाल्डो विश्वकप छनौट अन्तर्गत युरोपियन क्षेत्रका सर्वाधिक गोलमा भूमिका खेल्ने खेलाडी हुन् । उनले १५ गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन् । तर उनले स्पेन विरुद्ध गोल गर्न नसकेको ३४० मिनेट भइसकेको छ ।

पोर्चुगलले विश्वकपको समूह चरणमा भएका पछिल्ला ९ खेलमा एकमा मात्रै हार बेहोरेको छ । सन् २०१४ मा उ जर्मनीसँग ४–० ले हारेको थियो ।

फर्नान्डो सान्तोस प्रशिक्षकका रुपमा सबै तीन प्रमुख प्रतिस्पर्धाको नकआउट चरणमा प्रवेश गरेका छन् । उनले ग्रिसलाई सन् २०१२ को युरोकपमा क्वाटर फाइनलसम्म लगे ।

यस्तै ग्रिसलाई उनले सन् २०१४ को विश्वकपमा अन्तिम १६ सम्म लगेका थिए । उनले दुई वर्षअघि पोर्चुगललाई युरोकपको उपाधि दिलाए ।

पोर्चुगलले अहिलेसम्म विश्वकपमा ४३ गोल गरेको छ र त्यसमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरिएको एक मात्रै गोल छ ।

स्पेन

स्पेन पछिल्ला चार विश्वकप मध्ये तीन विश्वकपमा समूहको विजेता बनेको छ । तर उसले विश्वकपमा आफ्नो पहिलो खेलमा भने त्यति राम्रो गर्न सकेको देखिँदैन ।

उसले विश्वकपका पछिल्ला १२ खेल जो उसको प्रतियोगितामा पहिलो हुन्, त्यसमा एक खेलमा मात्रै जित निकालेको छ । उ सात खेलमा हारेको छ भने तीन खेलमा बराबरी भएको छ ।

स्पेन रुस विश्वकपसहित पछिल्ला ११ विश्वकपमा बिना प्ले अफ सीधै छानिएको छ । यो उसको लगातार सहभागिताको लामो यात्रा हो ।

स्पेनले सन् १९९३ यता विश्वकप छनौटमा कुनै पनि खेल गुमाएको छैन । तर विश्वकपमा भने समूह चरणका पछिल्ला ६ खेलमा तीनमा तीनै खेल हारेको छ ।

विश्वकपमा स्पेनका पछिल्ला १४ खेलमा कुनै पनि बराबरीमा टुंगिएका छैनन् । उसले १० खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।

स्पेन विश्वकप छनौट अपराजित रहने चार युरोपेली टिम मध्ये एक हो । बेल्जियम, इंग्ल्याण्ड र जर्मनी पनि अपराजित रहेका थिए । स्पेनले विश्वकप छनौटका १० मध्ये ९ खेल जितेको हो ।

यो विश्वकपका लागि टिममा रहेका ६ खेलाडीले सन् २०१० मा विश्वकपको उपाधि उचालेका थिए । जसमा डेविड सिल्भा, सर्जिओ रामोस, आन्द्रेस इनिएस्टा, पेपे रिइना, सर्जिओ बास्क्वेट्स र जेरार्ड पिके हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =