विश्वकपमा नेपाली फुटबल टोलीको रोजाईं र अनुमान

काठमाडौँ, असार १ । विश्वकप फुटबल रुसमा सुरु भएको छ । शुक्रबार उद्घाटन खेलमा आयोजक रुसले साउदीमाथि ५–० को नतिजा निकालेको छ । एक महिनासम्म चल्ने विश्वकपमा ३२ देशका ७३६ खेलाडी प्रतिस्पर्धामा छन् । रुसका ११ सहरका १२ रंगशालामा ६४ वटा खेल हुनेछन् ।

विश्वकप सुरु भएसँगै जित हारको अनुमानका जोड घटाउ नेपालमा पनि सुरु भएको छ । विश्व विजेता बन्न सक्ने टोलीबारे अनेक अड्कलबाजीहरु भईरहेका छन् । विश्लेषकहरुले विभिन्न कोणहरुबाट त्यसको विश्लेषण गर्दै विजेताबारेका आँकडा बाहिर ल्याईरहेका छन् ।

आफुले मन पराएका टिम र खेलाडीहरुको पनि खुलेर चर्चा भईरहेको छ । नेपाली फुटबलका प्रशिक्षक र खेलाडी त झनै यसबाट अछुतो रहने कुरै भएन । नेपाली खेलाडी तथा प्रशिक्षकका रोजाई यस्ता छन्ः

राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक हरि खड्काको रोजाइँ जर्मनी, ब्राजिल र फ्रान्स उत्कृष्ट टोली हुन् । जर्मनी साविक विजेता हो । जर्मनीले ठुला प्रतियोगितामा राम्रो खेल्दै आएको छ । ब्राजिल भन्ने नाम नै फुटबलसँग जोडिन्छ । उनीहरुको इतिहास छ र वर्तमानमा पनि राम्रो खेलिरहेका छन् । फ्रान्स सन्तुलित छ । उनीहरुमा जोश देखिन्छ । गएको यूरोकपको फाइनलमा पुगेकाले पनि फ्रान्स राम्रो टिम हो भन्नेमा कुनै दुविधा छैन ।

पूर्व स्ट्राइकर समेत रहेका खड्कालाई इजिप्टका स्ट्राइकर मोहमद सलाह, लियोनल मेसी (स्ट्राइकर,अर्जेन्टिना) र क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर,पोर्चुगल) मन पर्छ ।

राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक बालगोपाल महर्जनको राजाइँमा केहि फरक टोली परेका छन् । उनले जर्मनी, अर्जेन्टिना र ब्राजिललाई प्रमुख दाबेदारका रुपमा हेरेका छन् । उनलाई लियोनल मेस्सी, नेइमार र थोमस मुलर मन पर्छ ।

गोल रक्षकको रोजाई

किरण चेम्जोङ नेपाली राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक हुन् । उनको रोजाइँमा ब्राजिल पहिलो नम्बरमा पर्छ । उनी भन्छन्, ‘पछिल्ला मैत्रिपुर्ण खेलहरु हेर्दा चार वर्षअघि जर्मनीजस्तो देखिन्थ्यो अहिले ब्राजिल त्यस्तै छ । उनीहरुको टिमवर्क राम्रो देखिएको छ ।’

दोश्रो रोजाईँमा जर्मनी र तेश्रोमा पर्छ अर्जेन्टिना । जर्मनीको टिमवर्क मन पराउने किरण मेस्सीकै कारण अर्जेन्टिनालाई बलियो दाबेदार मान्छन् । उनलाई स्पेनका डेभिड डे जिया, जर्मनीका मानुयल नुयर र फ्रान्सका ह्युगो लोरिस मन पर्छ ।

विकेश कुथु राष्ट्रिय टोली र नेपाल आर्मीका गोलरक्षक हुन् । विश्वकप जित्न सक्ने शीर्ष तीन टोली ब्राजिल, स्पेन र जर्मनीलाई ठानेका छन् । उनी आफैं भने ब्राजिलको समर्थक हुन् । विकेशलाई मन पर्ने शीर्ष तीन खेलाडी पनि ब्राजिलकै छन् । गोलरक्षक एलिसन, रक्षक मार्सेलो रक्षक र स्ट्राइकर नेमार हुन् ।

कप्तान र स्ट्राइकरको रोजाई

राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन स्पेनको खेल शैली मन पराउँछन् । स्पेनले शनिबार राति पहिलो खेल पोर्चुगलसँग खेल्दै छ । विराजलाई मन पर्ने टोली भने ब्राजिल हो । टोलीका सबै खेलाडीहरु उच्च लयमा छन्। उनीहरुले युरोपका ठुला लिगमा प्रभाव जमाईरहेका छन्। बढी युवा खेलाडी भएपनि उनीहरुको प्रदर्शन परिपक्व छ, विराज भन्छन् ।

जर्मनी सँधै बलियो टोली हो। उसको डिफेन्सिभ शैली सबैभन्दा बलियो पक्ष हो। यहि कारण प्राय खेलमा जर्मनीलाई हराउन सजिलो गाह्रो पर्ने उनले बताए । उनलाई मन पर्ने खेलाडी मेसी, रोनाल्डो र नेइमार हुन् ।

नेपाली टोलीका स्ट्राइकर विमल घर्ती मगरलाई सानैदेखि मनपर्ने टिम हो अर्जेन्टिना । उनी भन्छन्– लास्ट टाइम फाइनलमा पनि पुगेको थियो । टोलीका हरेक खेलाडी राम्रा छन् । उनको दोश्रो रोजाईँमा ब्राजिल र तेश्रोमा पर्छ जर्मनी । उनलाई पनि मेसी नेइमार र थोमस मुलर मनपर्छ ।

अर्का स्ट्राइकर भरत खवास भने यसपटक ब्राजिल प्रमुख दाबेदार रहेको ठान्छन् । ब्राजिल मलाई सबैभन्दा बढी मनपर्ने टोली हो । उसको इतिहास पनि राम्रो छ । टोलीमा स्टार खेलाडीहरु छन्, खवासले भने ।

फ्रन्ट लाइन राम्रो र जोशिलो टिम फ्रान्स दोश्रो र अर्जेन्टिना तेश्रो रोजाइँमा परेको छ । मेस्सीका कारण नतिजा जे पनि हुन सक्ने र उनीमा खेल नै तलमाथी गर्नसक्ने क्षमता रहेको खवासको बुझाई छ । खवासलाई मनपर्ने खेलाडी लुईस स्वारेज, लियोनल मेस्सी र नेइमार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =