दाहाल समुहबाट मतदाता प्रभावित बनाउन पैसा बाँडेको आरोप

काठमाडौं, असार १ । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिबेशनको निर्वाचनको पूर्वसन्ध्यामा पैसाको चलखेल भएको छ । गएराती अध्यक्षका प्रत्यासी खिलानाथ दाहालले केहि मतदातालाई प्रभावित बनाउन पैसा बाँडेका हुन् ।

गौशाला स्थित पशुपति प्लाजामा गएराती करिब साँढे ११ बजेको समयमा अर्का अध्यक्षका प्रत्यासी उम्मेद्वार पुस्कर आचार्यको समुहले करिब ६० हजार नगद बाँड्दाबाँड्दै गरेको अवस्थामा रंगेहात फेला पारेको दावि गरेको छ । महाधिवेशनका लागि झापा, मोरङ र सुनसरीबाट आएका प्रतिनिधि बसेको स्थानमा आएर दाहाल पक्षधरलाई भोट हाल्न भन्दै अध्यक्ष प्रत्यासी दाहाल स्वयं आएका थिए । उनको साथमा काठमाडौं महानगरपालिकाका अधिकृत राम प्रसाद पौडेल, कोषाध्यक्षका उम्मेद्वार रेशब घिमिरे र दाहालका सहयोगी रमा पौड्यालले पैसा बाँडेको महाधिवेशन प्रतिनिधि राम कुमार रायले बताए ।

‘हामी सुत्ने तरखरमा थियौं, एक्कासी हामी बसिरहेको स्थानमा आएर उहाँहरुले यसपटक सहयोग गर्न आग्रह गर्दै पैसा देखाए । हामीले यसरी मजदुर किन्न पाइन्न भनेर होहल्ला गरेपछि उहाँहरु भाग्नु भयो ।’ उनले भने । महाधिवेशनमा पैसा बाँडेर चुनाब जित्ने रणनीति बनाएका दाहाल पक्षका रामप्रसाद पौडेल काठमाडौं महानगरपालिकामा समेत घुस खाएको आरोपमा हिरासतमा परेका ब्यक्ति हुन् ।

उनले केहि विदेशी (भारतीय) लाई नागरिकता बनाईदिने भन्दै पैसा खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन समेत गरिरहेको स्रोतको दावि छ । स्रोतका अनुसार बर्तमान अध्यक्ष समेत रहेका दाहालले रमा पौडेल सहितको टोली नै गएर मजदुरहरुलाई पुनः एकपटक काम गर्ने मौका दिन अनुरोध गर्दै आफ्नै खर्चमा बसेका झापा, मोरङ र सुनसरीका मजदुरहरुलाई बसाई खर्च भन्दै पैसा बाँडेका थिए ।

ट्रेड युनियन कांग्रेसका केहि ब्यक्तिले स्वच्छ ढंगले प्रजातान्त्रिक पद्दतिलाई स्विकार गर्न नसक्नेले मजदुरवर्गको हित गर्न नसक्ने बताएका छन् । ‘पैसाको आडमा मजदुरलाई भेडाबाख्रा सरह मोलमोलाई गर्ने काम भयो, यसले मजदुरहरुको हक अधिकार सुनिश्चित हुन्छ भन्ने विस्वास गुम्यो ।’ एक जिल्ला नेताले भने ।–‘आफुलाई बिसुद्ध मजदुर नेता भन्न रुचाउनेले रातारात पैसामा मजदुर किन्न खोज्नु भनेको प्रतिष्पर्धात्मक पद्दतिलाई विस्वास नगर्नु हो ।

यस्ता पैसा र शक्तिको आडमा निर्वाचन जित्ने सोच बनाएकाहरुलाई निर्वाचनको माध्यमबाट देखाईदिनुपर्छ ।’ उनले भने । यता पैसा बाँडेको भन्ने विषयमा अध्यक्षका प्रत्यासी दाहालले भने आफुहरु पैसा बाँड्न नभई देशभरीबाट आएका मजदुरहरु कसरी बसिरहेछन् भनेर जानकारी लिन गएको बताए ।

‘महाधिवेशनमा आएका प्रतिनिधिलाई खाने बस्ने ब्यवस्थाको जिम्मा आयोजकको भएकोले पशुपति प्लाजामा आफैंले ब्यवस्थापन गरेर बस्नु भएका झापा, मोरङ र सुनसरीका साथीहरुको अवस्था बुझ्न गएका हौं ।’ उनले भने–‘पैसा बाँडेका हैनौं । मेरो गोजीमा पैसा थिएन’ गएको मंगलबारबाट शुरु भएको कांग्रेस ट्रेड युनियनको छैटौं महाविधेशनबाट सत्र पदाधिकारी सहित ४४ पदमा निर्वाचन हुँदैछ । महाधिवेशनमा देशैभरबाट एक हजार ४ सय २० जनाले मताधिकारको प्रयोग गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =