पेस्तोल र खुकुरीसहित गुण्डागर्दीमा संलग्न दुई पक्राउ

काठमाडौँ, जेठ ३१ । गुन्डागर्दीविरुद्ध प्रहरीले चालेको अप्रेशनमा राधे समूहका दुई जना पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरबाट खटिएका विशेष प्रहरी टोलीले काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय भएर गुन्डागर्दीमा संलग्न रहेका काभ्रेको झैटी दउराली–८ घर भइ हाल सितापाइला बस्दै आएका २६ वर्षीय देवकुमार थापा र उनका सहयोगी धादिङको ज्वालामुखी–३ का २९ वर्षीय कमल गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले उनीहरुलाई पेस्तोल र खुकुरीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापा ‘राधे समूह’का गुन्डा हुन् ।

थापाले आफूलाई ट्रेकिङ गाइड र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने व्यक्तिको रुपमा परिचय दिने गरेका छन् । गुरुङ भने थापाको निकटमा रहेर गुन्डागर्दीमा संलग्न रहेको प्रहरी बताउँछ ।

उनले आफू इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर भएको बयान दिएका छन् ।

होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायीलाई धम्क्याएर हप्ता असुलीमा उनीहरु सक्रिय रहेको गुसानोपछि प्रहरीले निगरानी बढाएको थियो । खोजतलासका क्रममा उनीहरुलाई बुधबार राति ठमेल, ज्याठाको गल्लीबाट नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

उनीहरुले बोकेको कालो झोला चेकजाँच गर्दा रिवल्वर र खुकरी फेला परे लगत्तै, उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =