प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिँदै गर्दा चीनले खोल्यो साझेदारीको यस्तो रहस्य !

काठमाडौँ, जेठ ३१ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मिती नजिकिँदै छ । उनी असार पाँच गते चीन भ्रमणका लागि जाँदै छन् । प्रधानमन्त्री ओलीले असार ५ देखि चीनको ६ दिने औपचारिक भ्रमण गर्ने भएका हुन् ।

चार मन्त्रीलगायतलाई लिएर जाने ओलीको चीन भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत साझेदारीका क्षेत्रमा समझदारी हुने भएको छ ।

नेपालले प्रधानमन्त्री ओलीको भ्रमणको तालिका सार्वजनिक गरेकै दिनमा चिनियाँ विदेशमन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनका सुरुवातमै मन्त्रालयका प्रवक्ता जेङ सुयाङले नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको जानकारी गराएका हुन् ।

‘चीन र नेपाल मित्रताका साथै बृहत् साझेदारीका साझेदार हुन्। चीन र नेपालको सम्बन्धले सधैँ विकासको सुखद गतिको अनुभव गरिरहेको छ,’ प्रवक्ताले भने, ‘दुवै पक्ष एकअर्कालाई एकअर्काका सरोकारमा सहयोग गर्दै आएका छन्। हाम्रा आपसी साझेदारीका क्षेत्रहरू तीव्र रूपमा विकास भइरहेका छन्।’

नेपालमा राजनीतिक परिवर्तन पछि प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण भएको भन्दै प्रवक्ता सुयाङले दुवै देशको नेतृत्वलाई चीन नेपाल सम्बन्धलाई नयाँ सिराबाट कोर्न तथा मार्गदर्शन गर्न सहयोग पुग्ने बताए।

 ‘प्रधानमन्त्री ओलीको भ्रमणलाई बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्क अन्तर्गतको साझेदारीलाई उचाइमा लाने अवसरको रूपमा चीनले लिन चाहन्छ,’ उनले भने, ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि राजनीति, आर्थिक तथा व्यापार, पूर्वाधार, विपत् पछिको पुनर्निर्माण र संस्कृति तथा जनस्तरलगायतका क्षेत्रमा साझेदारीलाई बढाउने छ।’

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

भ्रमणले दुवै देशका नेताका लागि आगामी योजना तथा नयाँ अवस्था अनुरूप चीन–नेपाल सम्बन्ध विकासका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *