यस्ता छन् अाजका पत्रपत्रिकाका मुख्य समाचार

काठमाडौं ३१ जेठ। आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । आजदेखि शुरु हुने विश्वकप फुटबलमाथि मुख्य समाचार लेखिएका छन् । कतिपय पत्रपत्रिकाले भने भ्रष्टाचार अनियमितता, बेथिति लगायतका विषयलार्इ प्राथमिकतामा राखेका छन् ।

अाज कान्तिपुर, नागरिक र राजधानी दैनिक,अन्नपूर्ण पाेस्टले विश्वकप फुटबलको समाचारलाई मुख्य समाचार बनाएका छन् । विश्वकप फुटवलकाे समाचारलार्इ अन्य पत्रिकाहरुले पनि भित्री पृष्ठमा प्रकाशित गरेका छन् ।

हिजाे काेटेश्वरमा भएकाे टिपर दुर्घटनाकाे समाचारले पनि प्राथमिकता पाएकाे छ । अाजका अन्नपूर्ण र कान्तिपुरले राजधानीमा बेताेडले गुडेका टिपरले दुर्घटना गराएका विषयलार्इ प्राथमिकता दिएका छन् । कान्तिपुरले अधिकांश टिपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउने र दुर्घटना निम्तिने गरेको औंल्याएको छ । पछिल्लो समय टिपरको लापरबाहीका कारण कैयनले ज्यान गुमाएका छन् ।

सांसदलाई तालिम दिन युएनडीपीले ६४ करोड सहयोग दिने सम्झौता गरेको समाचारलाई मुख्य समाचार बनाएर छापेको नयाँ पत्रिका दैनिकले अनियन्त्रित गाडी हाँकिरहेका पूर्वयुवराज पारस शाह ट्राफिकको फन्दामा परेको लेखेको छ ।

यसका अतिरिक्त भूकम्पबाट प्रभावित २ सय ८६ गाउँ पहिरोकाे उच्च जोखिममा रहेको, गैससमाथि लगाम लगाइएको, प्रदेश ३ का जिल्लाहरुमा मात्रै १६१ बालबालिका रहेको समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।

नयाँपत्रिका दैनिक

ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१३१ नम्बरको गाडी प्रहरीले समातेको छ ।

जावलाखेलदेखि हुँइकिएका उनलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएको समाचारमा उल्लेख छ ।

प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको छ ।

ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि.वि. शाह उल्लेख छ ।

नागरिक दैनिक

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

कान्तिपुर दैनिक

संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ । समितिका अनुसार बाजेको सेकुवामा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको हो ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख छ ।

नेपाल समाचारपत्र

स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दि“दै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् । स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दिँदै उम्किन खोजेका हुन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा सोचेअनुरुप काम गर्न नसकेको सार्वजनिक रुपमा स्वीकार गर्दै आउनुभएको छ ।

नागरिक दैनिक

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *