तापसी पन्नु र ज्याकलिन फर्नान्डेज बीच घम्साघम्सी

जेष्ठ २३, २०७४- दुई हिरोइन कदापी राम्रा साथी बन्न सक्दैनन् भन्ने भनाइ सुनिदै आएको छ । जून कुरा बलिउडका केही अभिनेत्रिहरूलाई हेर्दा हो जस्तै पनि लाग्छ । बलिउडमा दशकौं देखि अभिनेत्रीहरू बीचको ‘क्याट फाइट’ हुदै आएको छ । यस्तो किस्सा अहिले फेरि दोहोरिएको छ । कुरा हो, फिल्म ‘जुडवाँ’ का दुई अभिनेत्री, तापसी पन्नु र ज्याकलिन फर्नान्डेजको । उनीहरू एक अर्कालाई रुचाउन छाडेका छन् ।

फिल्म छायांकन गर्दा तापसी र ज्याकलिनको सेड्युल छुट्टाछुट्टै समयमा राख्नु परिरहेको भारतीय सञ्चारमाध्यले ‘पत्ता’ लगाएका छन् । तापसीले अहिले सम्म २५ दिनको सुटिङ गरिभ्याएकी छन् भने ज्याकलिनले १५ दिनको मात्रै । उक्त फिल्मको सुटिङ लन्डनमा भइरहेको छ । यतिका अवधिमा दुई अभिनेत्रीको भेटघाट विरलै हुने गरेको छ । भेटमा उनीहरू राम्ररी हाई/हेलो समेत नभनी बाटो लाग्ने गरेका छन् । वरुण धवन भने दुईबीच सेतु बनिरहेका छन् ।

बलिउडमा कट्रिना कैफ र अनुष्का शर्मा, करिना कपुर र दीपिका पादुकोण, जया प्रदा र श्रीदेवी, शर्मिला टैगोर र राखी, विपाशा वासु र करिना, करिना र प्रियंका चोपडा जस्ता अभिनेत्रीहरू बीचको शत्रुता चासोको विषय बन्ने गरेको छ । पापाराजीहरूले उनीहरू मध्य केहीको ‘क्याट फाइट’ कैद समेत गर्न भ्याएका छन् । सैफ अली खानलाई लिएर करिना र दीपिका बीच भएको हात हालाहालको घटना सञ्चार माध्यममा आएको थियो । कट्रिना र अनुष्काको लडाइँ पनि कसैबाट लुक्न सकेन ।

करिनालाई त बलिउडमा ‘क्याट फाइटकी रानी’ कै संज्ञा दिने गरिएको छ । उनले पनि आफू फिल्म क्षेत्रमा साथी बनाउन आएको हैन भन्ने ठाडो र स्पष्ट जवाफ दिने गरिकी छन् । दीपिका, अमिशा पटेल र प्रियंकासँग करिनाको बाझाबाझ परेको थियो । दीपिका र कट्रिना बीचको युद्ध पनि लामै समय चल्यो । रणवीर कपुरलाई लिएर उनीहरू कुनै बेला निकै जुधेका थिए । फिल्म ‘ए जवानी है दिवानी’ र ‘तमाशा’ मा आफ्नो सट्टा दीपिकालाई लिएको भन्दै कट्रिना रिसाएको कुरामा सुन्नमा आयो ।

भर्खरै फिल्म खेल्न थालेकी सोनम कपुर बलिउड क्विन ऐश्वर्या राय माथि खनिनु कतिपयलाई नराम्रो लाग्ला तर उनले ऐश्वर्यालाई ‘आन्टी’ भनि दिएपछि दुई बीचको सम्बन्ध चिसिनु स्वाभाविक थियो । ऐश्वर्याले कान्स फिल्म फेस्टिभलमा सोनमसँग रेड कार्पेटमा हिँड्न अस्विकार गरिदिइन् । सोनम र दीपिकाबीच पनि सुमधुर सम्बन्ध छैन । हुन त उनीहरू कुनै बेला असल मित्र थिए तर के के कारणले त्यो मित्रता दुश्मनीमा परिणत भयो ।

फिल्म ‘फेसन’ मा सँगै काम गरेका प्रियंका र कंगना रनोट सोही फिल्मका कारण एक अर्काबाट टाढिए । प्रियंकाले फिल्ममा आफू मुख्य भूमिकामा रहेको र कंगना सहायक कलाकार भएको टिप्पणी गरेपछि कंगना रुष्ट भएकी थिइन् । उनीहरू एक अर्कासँग बोल्दैनन् । अनुष्काले चाहिँ ‘कफी विद करण’ मा आफू दीपिकाको साथी हुँदै नभएको भन्ने प्रतिक्रिया दिएकी थिइन् । अनुष्का र दीपिकाबीच व्वाईफ्रेन्डको विषयमा कोल्ड वार सुरु भएको थियो ।

सहकर्मीहरूको लडाइँ झगडा देख्दा अभिनेत्री जुही चावला दिक्क मान्छिन् । उनी यसलाई अभिनेत्रीहरू बीच व्याप्त असुरक्षाको आभास, औधि महत्त्वाकांक्षा र अतिरिक्त रहरहरूको परिणाम भन्न रुचाउँछिन् । ‘परिस्थितिसँग डिल गर्ने क्षमता उमेरसँगै बढ्छ’, जुही भन्छिन्, ‘म पनि कुनै बेला माधुरी दीक्षित, मनीषा कोइराला र करिश्मा कपुरसँग दाँजिनु पर्दा अप्ठ्यारो महसुस गर्थें । म त्यो बेला सानै र अपरिपक्व रहिछु । त्यस्ता प्रतिस्पर्धी भावना विस्तारै सेलाउँदै जान्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =