थारु समुदायको नयाँ वर्ष ‘माघी’
भौगोलिक, जातीय र सांस्कृतिक रुपमा विविधता रहेको नेपालमा कला संस्कृति र चाडपर्वमा पनि विविधता पाईन्छ । अझ एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो ।
मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् । थारु जातीका लागि यो विशेष पर्व हो भने नयाँ वर्ष समेत हो ।
माघे संक्रान्ति एक दिनमै सीमित हुन्छ भने माघीपर्व पुरै महिनाभरी हुन्छ । यो पर्वमा थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिन संगसंगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत समेटेका छन् । खेतीपातीमा बढी व्यस्त रहने थारु समुदाय चाडपर्वलाई यो पर्वलाई थकान मेटाउने अवसरको रुपमा उपयोग गर्छन् । वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनको प्रतिवद्धता गर्ने काम थारुले माघीमा गर्छन् । नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समिक्षा गरी गाउँको विकासका लागि नयाँ नीति निर्माण पनि तय गर्ने गछन् ।
थारु जातिको मौलिकता बोकेको ऐतिहासिक चाड माघीलाई विकासे पर्वकोरुपमा हेरिन्छ । पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने यसरी वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने काम समेत गर्ने गर्दछन् । विवाह गरी ससुराली गएका चेलीबेटीलाई कोसेलीको रुपमा धान, चामल लगायत उपहार पनि दिने चलन रहेको छ । वर्षदिनको कामको समिक्षा गरी नयाँ कामको शुरुवात गर्ने पर्व भएकाले माघीलाई थारु समुदायले अन्य पर्वभन्दा विशेष रुपले लिन्छन् । त्यसैले यस पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् ।
थारु समुदायहरुको माघी पर्व सामाजिकरुपमा पनि बेग्लै महत्व रहेको छ । कुनै पनि काम गर्नु पर्दा निर्णायक भुमिका निर्वाह गर्नको लागि एउटा नेतृत्व गर्नेको आवश्यकता पर्दछ त्यो चाहे देशको नितीनिमार्णमा होस् कि एउटा गाउँ ठाउँको विकासको गागि किन नहोस् । त्यसैले गाउँको नीति निर्माण, विकास तथा सद्भाव कायम राख्नको लागि अर्थात थारु गाउँलाई विधिवतरुपले सुचारु गर्न बडघर, भलमन्सा, चौकीदार यहि पर्वमा चयन गर्छन् ।
थारु समुदायले समाजकै रोहवरमा सबैको साझा छलफल र निर्णयअनुसार त्यसको व्यवस्थापन गर्ने गर्छन् । यसले एकातिर सामाजिक भावनाको विकास गराउँछ भने अर्कोतिर निर्णय प्रक्रियामा सहभागी हुन सबैलाई उत्प्रेरित गर्छ । त्यसैले पनि माघीपर्वको सामाजिक महत्व बढी छ । गाउँको हरेक कामकाजको निर्णयमा गाउँभरीका सदस्यको सहभागिता रहन्छ । गाउँको विकास निर्माणका लागि एक्लै निर्णय गरिदैन व्यवस्थापनका लागि प्रस्ताव बडघर (गाउँको अगुवा) ले गर्छ, छलफल गरी निर्णय लिने काम सामुहिक रुपमा गरिन्छ ।
यो काम माघ महिनामै हुनेगर्छ, त्यसैले यसको सामाजिक महत्व वेग्लै छ । एक अर्कासँग भातृभाव, सद्भाव र प्रेम गरेर मनाउँछन् । आफू जे खान्छन् र अरुलाई पनि खुवाउँछन् । विहानै पवित्र नदिमा नुहाएर पूर्खाको आशीर्वाद लिएर थारु गाउँघरमा गरिने सबै रीतिरिवाज पूरा गर्छन् । आर्शिवाद लिएर माघीबाटै नयाँ सम्बन्ध र भाइचारा भावनाको विस्तार शुरु गर्छन् । चाहे मनोरञ्जन गर्न मघौटा नाच होस्, मासुकालागि सुंगुरबंगुर काट्दा (जिता मार्दा) होस्, पूर्खाको आशीर्वाद थाप्नेबेला होस् कि गाउँको, घरको जिम्मेवारी बाँडफाँड गर्दा होस्, सबै काम सामुहिक छलफल र निर्णयले गर्छन् थारु समुदायले । घरको मूली छान्नसमेत घरका सबै सदस्यहरुसँग छलफल गरी निस्कर्ष लिने गर्दछन् ।
यो पर्वमा मा थारुहरुले विभिन्न परिकारका खानेकुरा तयार पारेका हुन्छन् । विशेष गरि ढिक्री,घोगी, माछा, गंगटा, सुगुरको मासु लगायत आदि प्रायः सबैको घरमा बनाएका हुन्छ् । सांस्कृतिक रुपमा पनि सम्पन्न थारु समुदाय माघी पर्वमा मटौता, हुरदंग्वा, झुमरा लगायतका नाचहरु नाच्ने गर्छन् । सामुहिकरुपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायबीचको मेलमिलाप, भातृभाव र सामुहिकतालाई थप सहयोग गर्छ । थारु समुदायको सांस्कृतिक कार्यक्रम केवल सो समुदायकालागि मात्र होइन । यो त सिंगो नेपालीहरुको सांस्कृतिक गहनाको रुपमा रहेको छ ।
वर्षौवर्षसम्म एकापसमा भेटघाट नभएका व्यक्तिबीच माघीपर्वले भेटघाट गराउने, समन्यय र सद्भाव बढाउने काम गर्छ । सांस्कृतिक कार्यक्रमले एकातिर मनोरञ्जन प्रदान गर्छ भने अर्कोतिर सो समुदायको सांस्कृतिकपक्षको जगेर्ना गरिरहेको हुन्छ । खासगरी माघीपर्व परम्परागतरुपमा मनाइने भएपनि यसको सांस्कृतिक पक्षलाई जोगाउनु पनि उत्तिकै महत्वको विषय हो । यसले एकअर्कालाई एउटै मालामा बाँधेर राख्ने भूमिका खेल्छ । त्यसैले माघी पर्वको सांस्कृतिक महत्व छ भनिन्छ । संस्कृति जुनसुकै समुदायको आफ्नो मौलिक पहिचान हो भने ती देशभित्र गरिने सबै जातजातिको कार्यक्रम अन्य मुलुकका लागि भने नेपालकै पहिचान बन्न जान्छ ।