मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन गर्ने नेविसंघको चेतावनी

“
लम्की, जेठ २९ । पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामानमा सरकारले गरेको मुल्य बृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी (नेवि)संघले देशब्यापी रूपमा आन्दोलन गरी रहेको छ ।
देशब्यापी बिरोध र आन्दोलन गर्दै आएको नेविसंघले सोमबार लम्कीमा बिरोध र्याली सहित कार्यक्रम गरेको छ ।
पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामानको बजार मूल्यमा सरकारले अघोषित रूपमा गरेको चर्को मूल्य वृद्धिले गर्दा सर्वसाधारण जनता मारमा परेको भन्दै नेविसंघले बिरोध गरेको हो ।
सरकारलाई मुल्यबृद्धि तत्काल फिर्ता लिन नेविसंघले माग समेत गरेको छ । कतिपय जिल्लामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै कृत्रिम अभाव समेत देखिन थालेको छ भने कालोबजारी समेत बढ्दै जान थालेको छ ।
नेविसंघ लम्की बहुमुखी क्याम्पस इकाई कमिटीको आयोजनामा भएको विरोध र्याली लम्की बजार परिक्रमा गरी लम्की चौराहमा कोण सभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै नेविसंघका बिद्यार्थी नेता ललित जैशीले बाम गठबन्धन सरकारले सर्बसाधारण जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामान सहित पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
वर्तमान सरकार जनतालाई राहत दिनुको साटो आहात दिनतर्फ उद्दत रहेको उनको आरोप छ । कार्यक्रममा जैशीले राष्ट्रियता र रास्ट्रवाद नाममा सरकार लम्पसारबाद भएको टिप्पणी समेत गरे ।
यस्तै, विरोध सभामा बोल्दै नेविसंघ ७ नम्बर प्रदेश सदस्य एवं बिद्यार्थी नेता अम्मर विष्टले सरकारले जनतालाई विभिन्न बहानामा दुःख दिईरहेकाले टुलुटुलु हेरेर बस्न नसकिने बताए ।
उनले भने ‘जनतालाई सरकारले सास्ती दिदै जाने र हामी टुलुटुलु हेरेर बस्न सक्ने अवस्थामा छैनौं । सशक्त आन्दोलन र प्रतिबाद गर्छौं ।’
कार्यक्रममा विद्यार्थी नेता हृदयराज उपाध्यायले नेविसंघले थालेको बिरोध बारे सरकारले सुनुवाई नगरे देशैभर सशक्त आन्दोलनको
आँधीबेरी ल्याउने र त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिएका छन् ।
कार्यक्रममा विद्यार्थी नेता सहित सयौं समर्थकहरुको सहभागिता रहेको थियो ।
“








