घाइते अशोक लामाबाट गोलीसहितको एउटा पेस्तोल बरामद, उनको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ,जेठ २८ । सर्च अपरेशनको क्रममा सोमबार दिउँसो राजधानीको युएन पार्कमा प्रहरीको गोली लागि घाइते भएका गुण्डा नाइके अशोक लामाबाट प्रहरीले गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।

विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको महानगरीय आयुक्त डिआईजी मनोज न्यौपानेले जानकारी दिए।

विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो।

गोली लामाको खुट्टामा लागेकाले उनी घाइते भएका छन्। दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका ३८ वर्षीय लामासँग जम्काभेट भइ चेक गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेकाले गोली चलाएर नियन्त्रणमा लिइएको सिंहले जनाकारी दिए। उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरी्ले जनाएको छ।

लामा ललितपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने जस्ता कार्यमा संलग्न भएको भनी प्रहरीमा गुनासो परेको थियो । गुण्डागर्दीमा संलग्न दावा लामाको सहयोगी समेत रहेका लामाविरुद्ध यसअघि ज्यान मार्ने उद्योग र सार्वजानिक अपराधमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *