विश्वकप फूटबल–२०१८ः कान नसुन्ने सेतो बिरालोले यसरी गर्नेछ भविष्यवाणी

“
यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलको नतिजाबारे भविष्यवाणी गर्ने भएको छ । आयोजक राष्ट्र रूसले सो प्रयोजनका लागि उक्त बिरालोलाई छनोट गरेको हो ।
‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेतो बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
मुसा भगाउने प्रयोजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालोलाई राखिएको छ । सो म्युजियम क्षेत्रमा ६० वटा बिराला राखिएको बताइन्छ, जसमध्ये अकिलिजलाई विश्वकपको भविष्यवाणीका लागि छनोट गरिएको हो ।
यसरी हुनेछ भविष्यवाणीः
विश्वकपका हरेक खेलपूर्व उक्त बिरालोमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालोले एउटाको खाना छानेर खानेछ । जुन टिमको झण्डा भएको भाँडोको खाना बिरालाले खानेछ, सोही टिम विजेता बन्ने भविष्यवाणी गरिएको मानिनेछ ।
अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनौट भएको हो । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेको बताइन्छ ।
हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालोमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेको छ । सुन्न नसकेपछि उसको ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भइरहेको मारियाको भनाइ छ ।
यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो ।
यसपटकको विश्वकपका लागि छनौट भएपछि यो बिरालो पनि एकाएक सेलीब्रेटी भएको छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलाई ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो ।
एजेन्सी
“








