प्रदेशसभा चुनावमा मामा भान्जाको रोचक भिडन्त

भोजराज कार्की, सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा (क) निर्वाचनमा मामा र भान्जाको रोचक भिडन्त हुने भएको छ । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा (क) मा मामा—भान्जा प्रमुख दुई शक्तिबाट चुनावी मैदानमा उत्रेका छन् ।

नेकपा (एमाले)का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा (क) का साझा उम्मेदवार छन् भने उनका मामा नेपाली काँग्रेसबाट सोही पदमा प्रकाशसिंह कार्की (भान्जा) उम्मेदवार बनेका छन् । वाम शक्ति र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेदवारीले चर्चा पाउन थालेको छ ।

“रगतको नाता भए पनि राजनीतिमा फरकफरक धु्रवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार छौँ” नेपाली काग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले भने । उनले भने, “मैदानमा उत्रिएका छौँ, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ ।”

यस्तै वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भने, “मामा भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हुँदैन, हामी चुनावी मैदानमा छौँ, यसको निर्णायक जनता हुन् ।”

स्थानीय तहको मत परिणामलाई हेर्दा

सोलुका चार गाउँपालिकामध्ये महाकुलुङ र दूधकौशिका प्रमुखमा माओवादी केन्द्रले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुखमा एमालेले जितेको छ । स्थानीय तहको मत परिणामलाई आधार मान्दा प्रदेश सभा ‘क’ मा काँग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीभन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत चार हजार ८२७ मतले अगाडि छन् ।

प्रदेश सभा ‘क’ मा महाकुलुङ, सोताङ, दूधकौशिका र नेचा सल्यान गाउँपालिका रहेको छ । जहाँ स्थानीय तहमा एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत ११ हजार ३३ रहेको छ भने काँग्रेसको मत छ हजार २०६ रहेको छ । यहाँ काँग्रेस चार हजार ८२७ मतले पछि देखिन्छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =