ओरियण्टलका सञ्चालक बस्नेतलाई पुनः पक्राउ गर्न पीडितको माग

काठमाडौँ, जेठ २७ । ओरियण्टल सहकारीका सञ्चालक सुधीर बस्नेत जेलमुक्त भएपछि पीडित निक्षेपकर्ताहरुले बस्नेत देशकै ठूलो अपराधी भएकोले उनलाई पुनः पक्राउ गर्न गृहमन्त्री थापासँग माग गरेका छन् ।

विगत ६ वर्षदेखि ठगी धन्दा गर्दै आएका बस्नेतलाई देशको कुनै पनि कानुनले सजायँ दिन नसकेको र आफूहरुले गणतन्त्र आएको महसुस गर्न नसकेको भन्दै पीडितहरुले गृहमन्त्रीसँग बस्नेतलाई पुनः पक्राउ गर्न माग गरेका हुन् ।

उक्त घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले चासो दिँदै भने, ‘म अन्यायमा परेकाहरुलाई न्याय दिनका लागि नै यो कुर्सीमा बसेको हुँ, गृहमन्त्री थापाले पीडितहरुलाई भने, ‘तपाईरुमाथि अन्याय परेको रहेछ, म यस बारेमा बुझ्छु ।’

बस्नेतबाट ठगिएका पीडितहरुसँग गृहमन्त्रालयमा भएको भेटमा मन्त्री थापाले सुधीर बस्नेतको ठगी धन्दाबारे चासोका साथ सोधीखोजी गरे ।

‘राष्ट्रिय स्तरमै ठूलो आर्थिक घोटाला गर्ने सुधिर वस्नेतलाई पक्राउ गरी आवश्यक कारवाही गर्दै हाम्रो निक्षेप रकम फिर्ताका लागि पहल गरियोस् ।’ पीडित पक्षको विज्ञप्तिमा उल्लेख छ ।

पीडितले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘जेल सजायँ भोगिरहेका बस्नेतलाई अचानक धरौटीमा रिहा गरिएको खबर विभिन्न पत्रपत्रिकाबाट सुन्दा हामी चकित भएका छौं । यसरी नै अपराधीहरुलाई रिहा गर्ने हो भने अपराधी घोषणा गरेर कारावास सजायँ दिनुको के औचित्य रह्यो ?’

‘हजारौं नेपाली जनताको धनसम्पत्ती खुलेआम दुरुपयोग गरी जनताको जीवनमाथि खेलवाड भएको यो नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराध हो’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्ता उच्चकोटीका अपराधीलाई प्रोत्साहन गर्नुको सट्टा उनीहरुलाई न्यायको कठघरामा उभ्याउन जरुरी छ, ताकि कसैले पनि नियम कानुनको दुरुपयोग गर्ने आँट नगरोस् ।’

सहकारी ऐन ०४८ अन्तर्गत ०५३ सालमा स्वीकृति प्राप्त २३६ नम्बरमा दर्ता भएको बस्नेतको ओरियण्टल सहकारीले देशका प्रमुख शहरहरुमा १३ वटा शाखासमेत विस्तार गरेको थियो ।

काठमाण्डौंको मैतीदेवीमा प्रधान कार्यालय रहेको बस्नेतको सहकारीले ०६९ साल भदौदेखि ११ हजारभन्दा बढी वचत तथा निक्षेपकर्ताहरुबाट उठाएको ४ अर्ब रुपैयाँको साँवा–व्याज फिर्ता दिन नसकेपछि उनी जेल परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *