३५औँ बिपी कोइराला स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, साउन ६ । प्रथम जनानिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५औँ स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रम गरि मनाउँदै छन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । सुवर्णशम्शेर लगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र काँग्रेससँग २००६ साल चैत २६ गते एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भएको थियो ।

यही क्रान्तिले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना ग¥यो । यसपछि बनेको राणा काँग्रेस सरकारमा कोइराला गृहमन्त्री बन्नुभयो । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाको दोषी चश्मा कथासङ्ग्रह लगायत कृति प्रकाशित छन् । सुन्दरीजल बन्दीगृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गर्नुभयो ।

बिपीले कारागारमा रचना गर्नुभएका साहित्यिक कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’ र ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ आत्मजीवनीलगायत छन् । कोइराला प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *