भक्तपुर: चाँगुनारायणमा वीर अस्पताल बिस्तारका लागि ३० करोड विनियोजन

“
भक्तपुसर, जेठ २५ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा वीर अस्पताल बिस्तारका लागि सरकारले ३० करोड बजेट विनियोजन गरेको छ । वडा नम्बर ११ र १४ मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा अस्पताल विस्तार गर्न प्रारम्भिक कार्य गर्न उक्त बजेट विनियोजन गरिएको हो ।
राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अस्पताल विस्तारको काम अगाडि बढेको जानकारी गराएका हुन् । यो वर्ष सरकारले ३० करोडको बजेट छुट्याएकाले यो बजेटबाट अस्पतालको डिपिआर बनाइने, जग्गाको सीमाङ्कन गरेर तारबार लगाइने र वातावरणीय परीक्षण इआइए गरिने उनको भनाई छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङसहितको चिकित्सक एवं विज्ञ टोलीले जग्गाको अनुगमन गरेपछि सो क्षेत्रमा अस्पताल विस्तार गर्ने निर्णय भएको थियो । अस्पताल निर्माणका लागि करीब तीन किमीको चार लेन पेप्सीकोला–मनोहरा करिडोर सडक निर्माण गरिने भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले मनोहरा र चाँगुनारायण क्षेत्रभित्र रहेको एक लाख १७ रोपनी जग्गालाई जग्गा व्यवस्थापन अर्थात् ल्याण्ड पुलिङ्ग गरेर नयाँ शहर बनाइने तथा काठमाडौँ उपत्यका शहरी विकास योजनाले नयाँ प्रस्तावित ‘इशान कोण’ नामक अत्याधुनिक शहर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको काम शुरु भएको जानकारी दिए ।
चाँगुनारायणका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिका क्षेत्रमा वीर अस्पताल निर्माणका लागि आफूहरुले गरेको पहल सफल भएको बताए । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले अस्पताल निर्माणसँगै चाँगुनारायणमा बन्न लागेको नयाँ शहर निर्माणले यहाँका जनता उत्साहित भएको बताए ।
“








