मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : अर्थमन्त्री

काठमाडौँ, जेठ २४ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा विहिबार साँझ आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने ।

बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५/०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे ।

उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताए । कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताए । “सरकारले निजी क्षेत्रलाई दिने अभिभावकत्वको प्रतीक्षामा निजी क्षेत्र रहेको छ”, उनले भने । अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *