खुत्रुकेले धानेको जीवन, संकटमा पर्दै माटाका भाँडा बनाउने व्यावसाय

काठमाडौँ, जेठ २४ । गाउँघरमा यताकता गर्मी समयमा चिसो पानी पिउनका निम्ति माटाको घैँटोमा पानी राख्ने चलन अझैसम्म पनि यथावत नै छ । चर्काे गर्मी याममा जब घरमा कोहि पाहुना आउँथे, तब ‘जाऊ नानी घैँटोको चिसो पानी ल्याईदेऊ’ भन्ने वाक्य धेरै सुनिन्थ्यो ।

तर अहिले यी सबै कुराहरु बिस्तारै हराउँदै गएका छन् भन्दा पनि खासै फरक नपर्ला । देशका विभिन्न ठाउँहरुमा माटाका भाँडा बनाउनका लागि कुमाल जातीहरु बस्ने गरेको पाइन्थ्यो तर अहिले माटाका भाँडा प्रयोग गर्ने चलनका साथ साथै कुमाल जाती पनि बिस्तारै लोप हुँदैै गइरहेका छन् ।

तर भक्तपुरको पोट्ररी स्क्वायरमा परम्परागत शैलीमा माटाका भाँडा बनाउने काम प्रजापती समुदायले गर्दै आईरहेका छन् । अब यो समुह पनि पहिलेको भन्दा कम सक्रिय हुँदै गइरहेको उनीहरुको बुझाई रहेको छ ।

वर्षौदेखि नै माटाका भाँडाहरु बनाउँदै आएका प्रजापती समुदायका दशराम प्रजापती पनि एक हुन् । उनले आफ्नो हजुरबुवा र बुवाबाट माटोसँग खेल्न सिकेका थिए । माटोसँग खेल्दा खेल्दै उनी अहिले ५७ वर्षका भइसकेका छन् ।

तर अझै पनि उनले माटोसँग खेल्न भने छाडेका छैनन् । दशरामको नौ जनाको परिवार रहेको छ । उनका घरका सबै सदस्यले यहि माटासँग खेल्ने अनि माटा कै भाँडाकुडा बनाउने काम गर्छन् । यहि काम गरेर उनीहरुले घरखर्च चलाई रहेका छन् ।

उनी आफुले बनाएका माटाका भाँडा मिलाउँदै भन्छन्,‘मेरो दिनको सुरुवात यहि माटाबाट सुरु हुन्छ र अन्त्य पनि यहि माटासँग खेल्दै हुन्छ । तर के गर्ने जति मेहनत गरे पनि मेहनत अनुसारको कमाई हुदैन ।’

माटाका भाँडाहरु कालो र चाम्रो माटोबाट मात्र बन्छन् । तर माटो पनि विभिन्न खाले प्रयोगमा आएका छन् । भाँडा बनाउनका लागि जुन माटाकोे भाँडा बनाएर घाममा सुकाउदा फुटेर जादैन त्यहि माटो नै उत्तम मानिन्छ ।

यस्तो माटो पाइने ठाउँमा अहिले घरहरु बन्न थाले पछि माटोको अभाव हुन थालेको उनको बुझाई रहेको छ । उनले एक पटकमा ६ हजारदेखि ७ हजारसम्मको भाँडा बनाउनका निम्ति माटो किनेर ल्याउने बताउँछन् ।

उनका अनुसार आजभोली पहिलाको जस्तो काठको चक्का घुमाएर भाँडा बनाउनु पर्दैन अहिले काम गर्न धेरै नै सजिलो भएको छ । विद्युतमा जोडेर मेसिन चलाउन अनि बसी बसी भाँडा बनाउन सहज भएको छ ।

तर तुलनात्मक रुपमा अहिले माटोबाट बनेका भाँडाहरुको व्यापार कम हुँदै गएको छ । जब प्लास्टिकबाट बनेका भाँडाहरु बजारमा भित्रिए त्यसपछि मान्छेहरु प्लास्टिकका भाँडा तर्फ आकर्षित भएको प्रजापती समुदायको बुझाई रहेको छ ।

त्यस्तै विष्णु प्रसाद प्रजापती र लक्ष्मी प्रसाद प्रजापती दुई दाजुभाइ मिलिजुली माटाका भाँडा बनाउने काम गर्दै आएका छन् । उनीहरुको अनुभव पनि फरक भने छैन । उनीहरु एकभाइ मेसिनमा बसेर भाँडा बनाउँछन् त अर्को भाइ माटो मुछ्ने काम गर्छन् ।

यी दाजुभाइ पनि पूर्खाहरुले गर्दै आएको परम्परागत पेसालाई नै अँगालेको बताउँछन् । कालो माटो मुछ्दै गरेका विष्णु प्रसाद भन्छन्,‘सबै कुरा फरक भइसक्यो, भाँडा बनाउने सामानदेखि लगेर बेच्ने सामानसम्म भिन्नता छाएको छ । पहिलेको जस्तो केहि पनि छैन पुराना सबै सामानहरु लोप हुँदै गइसकेका छन् ।

उनले भने, ‘पहिला पहिला पानी राख्नका लागि माटाका भाँडाहरु प्रयोग हुन्थे र धेरै बिक्रि हुन्थे तर अहिले पैसा राख्ने माटाका खुत्रुके धेरै बिक्रि हुन्छन् ।’

सिपाडोल र हरिसिद्धिबाट उनीहरुले कालो माटो किनेर ल्याउँछन् । एक पटकमा ७ हजार रुपैयाँ तिरेर किन्दा पनि आजभोली राम्रो माटो पाउन निकै गाह्रो हुने उनी बताउँछन् ।

माटो पाइने सबै ठाउँहरुमा अहिले इट्टा उद्योग बनेका कारण भाँडा बनाउने माटोको अभाव हुन थालेको उनीहरुको बुझाई रहेको छ ।

भाँडा बनाउने मेसिनमा बसेर विभिन्न आकारका माटाका भाँडाहरु बनाई रहेका लक्ष्मी प्रसाद भन्छन्, ‘काम गर्न गाह्रो भइसकेको छ । अहिले त किन्छु भन्दा पनि माटो पाउन कठिन भइसकेको छ । अबको पछिल्लो समयमा माटो नपाएरै माटाका भाँडा पाउँन साह्रै कठिन होला ।’ हाँस्दै उनी फेरी थप्छन् ‘ नाती नातीनाका छोरा छोरीको पालामा त माटाका भाँडा पनि हुन्थे भनेर अचम्म पर्छन् होला ।’

यो पेसा अँगालेर घर व्यवहार चलाउन मुस्किल भैसकेको उनीहरुले दावी गरेका छन् ।
पहिला परालमा आगो बालेर त्यसको खरानीमा सुकाएका भाँडाहरु पोल्ने गरिन्थ्यो त्यो समयमा एक दिन जतिको सबै सामानहरु नोक्सान भएर जान्थे तर अहिले विद्युतिय भट्टाहरुमा पोल्ने गरिन्छ यसरी सामानहरु पोल्दा सामान अलि कम नोक्सान हुने उनीहरुको बुझाई रहेको छ ।


भाँडा बनाउन सजिलो र छिटोका निम्ति सबैले विद्युतिय मेसिन प्रयोग गरिरहेका छन् ।

तर ७० वर्षका ललित प्रजापती पुरानै शैलीमा काठको चक्का घुमाएर माटाका भाँडा बनाउदै आईरहेका छन् । उनी आफ्नो परम्परागत शैलीलाई नयाँ पुस्ताहरुले बिर्सिदै गएको भन्दै आफुले पुरानै शैलीमा भाँडा बनाई रहेको बताउँछन् ।

उनी भन्छन्,‘भक्तपुरमा माटो पाउन छोड्यो अब माटो कै लागि भनेर हरिसिद्धि पुग्नु पर्छ, त्यो पनि ७ हजार रुपैयाँ तिरेर ल्याउनु पर्छ । अब त माटो किनेर नि पाउन कठिन हुन थाल्यो ।’

प्रजापती समुदाय माटो किनेर ल्याउँछन् । भाँडा बनाउँछन्, बनाएका भाँडाहरु १४ देखि १५ दिनसम्म घाममा सुकाउँछन् । र ७२ घण्टा अर्थात तीन दिनसम्म पोलेर बेच्नका लागि तयार पार्छन् । यति धेरै मेहनत गर्दा पनि आम्दानी खासै राम्रो हुन सकेको छैन ।

उनीहरुले बनाएका सामानहरु मध्ये पाला, गमला र खुत्रुके सबै भन्दा धेरै बिक्ने गर्छन् । पाला चाड पर्वको बेलामा धेरै बिक्ने गर्छन् भने खुत्रुके जुनसुकै सिजनमा पनि बिक्ने भएका कारण उनीहरुको व्यवसाय यहि खुत्रुकेले नै बचाएकोे उनीहरु बताउँछन् । उनीहरुले बनाएका माटाका भाँडाहरु काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, पोखरा लगाएत विभिन्न सहरहरुमा पुग्छन् ।

वर्षौदेखि यहि माटोको पेशामा रमाउँदै आईरहेका प्रजापती समुदाय अहिलेको माटो अभाव र आधुनिकीकरणले गर्दा आफ्नो परम्परागत व्यवसाय संकटमा पर्ने हो की भन्ने चिन्तामा परेका छन् ।

                  

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =