खड्काले राजीनामा दिएकोमा धन्यवाद दिँदै मन्त्री यादवले भने, ‘निगमको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट’

“
काठमाडौँ, जेठ २४ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले आयल निगममा नयाँ नियुक्तिका लागि छलफल थालिने बताएका छन् । यादवले बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएकोमा धन्यवाद दिँदै अब नयाँ नियुक्तिका लागि छलफल थालिने बताएका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री यादवले मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिएकोमा खड्कालाई धन्यवाद दिएका हुन् ।
आयल निगमलाई राम्रो बनाउने योजना रहेको भन्दै यादवले निगममा अब नयाँ नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गरिने भन्दै निगमलाई सुधारेर लैजाने दावी समेत गरे ।
उनले भने, अहिले निगमप्रति कसैको पनि राम्रो धारणा छैन, अब भने सबैको आयल निगम बनाउने प्रयास गरिनेछ ।
सम्मेलनमा मन्त्री यादवले आयल निगमको जग्गा खरिदबारे भएको भ्रष्टाचार प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेकाले मन्त्रालयले कुनै हस्तक्षेप गर्न नमिल्ने बताए । ‘यो विषय अख्तियारले हेरिरहेको छ, मन्त्रालयले केही गर्न मिल्दैन,’ मन्त्री यादवको जवाफ थियो ।
उनले पेट्रोलियम पदार्थ भण्डारका लागि मन्त्रालयले जग्गा खोजिरहेको भन्दै जग्गा पहिचान भएपछि टुङ्गो लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेपनि मन्त्रालय मातहतका निकायले गरेका काम कारवाहीबारे अध्ययन भइरहेको मन्त्री यादवको भनाई थियो ।
आयल निगमको जग्गा खरिद काण्डमा मुछिएपछि विवादीत बनेका खड्काले आजै राजीनामा दिएका छन् ।
राजीनामाबारे पत्रकार सम्मेलनमा बोल्दै खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप लगाएका छन् ।
“








