“भगवानले मलाई पालेको छ”
काठमाडौँ, १७ साउन । मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइ सक्नुभएको छ । वि सं २०५०/५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुग्नुभएका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाउनुभएको छ । “सुरुमा बुवाले मूर्तिको स्केच तयार गर्नुभयो, त्यसपछि बुवासँगै मूर्ति बनाउन शुरु गरेँ, अब त सजिलैसँग मूर्ति बनाउँछु”रामकृष्णले भन्नुभयो ।
काठमाडौँको उत्तरी भागमा शिवपुरीको फेदीमा बूढानीलकण्ठ नगरपालिकामा रहेको जलाशायी शेषनागका पाशमा रहेका बूढानीलकण्ठको मूर्ति शताब्दीको मानिन्छ । प्रस्तरमूर्तिको सो मूर्ति बाइस फिट लम्बा र १२ फिट चौडाको छ । नेपाली प्रस्तरमूर्तिमा यसभन्दा ठूलो अर्काे मूर्ति छ्रैन । लिच्छविकालका राजा विष्णु गुप्ताले आफ्नो राज्यकालमा विसं ६९७ मा सो मूर्ति बनाएको बताइएको छ । प्रतापमल्लले हनुमानढोका र बालाजुमा पनि सो मूर्तिको प्रतिकृति बनाएका थिए ।
रामकृष्णले बनाएका मूर्ति नयाँ नैकाप भञ्जाङ, कीर्तिपुर ट्यांला फाँट शिवालय, नगाउँ, तीनथाना, रामेश्वर मन्दिर, ढुंगेअड्डा, चिरायु भण्डारी, तीनथाना, शिव राउत, तीनथाना, र तीर्थ प्रधान, टयांलाफाँटमा राखिएको छ भने एक मूर्ति उहाँको आफ्नै घरमा छ ।
उहाँले बूढानीलकण्ठ स्थानमै केही समय बसोबास गरेका खप्तड स्वामीका पनि पाँच मूर्ति बनाउनुभएको छ । “नारायण र भगवतीको मूर्ति त मैले आजै बनाएँ” यही साउन १६ गते रासससँग कुरा गर्दै रामकृष्णले बताउनुभयो । हालसम्म राजनीतिक व्यक्तित्व र देवीदेवताका गरी हजारौँ मूर्ति बनाउनुभएका उहाँको जीविका तिनै मूर्ति बनाएर चलेको छ ।
“वास्तवमा म धार्मिक मान्छे होइन, तैपनि भगवान्ले नै मलाई पालेका छन्, यो मेरो जीवनको विरोधाभास पनि हो” कीर्तिपुर नगरपालिका–१०, चिठु निवासी मूर्तिकारले भन्नुभयो, घरखर्च नभएका बखत गणेशको मूर्ति बनाउँदा तुरुन्तै बिक्ने गरेको छ ।” कीर्तिपुर बाघभैरव, उमामहेश्वर, चिलञ्चो विहार, ल्होँ देवल, गणेश मन्दिर, महाङ्काल, बुद्धका अवतार, चिठु बहिली, शङ्खधर साख्वा, चार शहीद(राराहिल)लगायत मन्दिर, विहार र शालिकको क्षेत्र पनि हो । त्यहाँ रहेका धेरै धार्मिक मूर्तिमा पनि उहाँको छिनो परेको छ । कलाकारलाई बाँच्न गाह्रो नभएको उहाँको ४० वर्षको पेशागत अनुभव छ । रासस