म्यानचेस्टर युनाइटेडद्वारा वाट्फोर्ड पराजित

एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मङ्गलवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे । वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल फर्काए । १९ र २५ औँ मिनेटमा योङ तथा ३२ औँ मिनेटमा मार्सलले गोल गर्दै पहिलो हाफमा नै म्यानचेस्टर युनाइटेडलाई ३–० को अग्रता दिलाए । यो अग्रता ७७ औँ मिनेटसम्म कायम रह्यो । डिनीले ७७ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत वाट्फोर्डका लागि एक गोल फर्काए ।

त्यस्तै, ८४ औँ मिनेटमा डोउकोउरीले वाट्फोर्डका लागि अर्को गोल गरे । ८६ औँ मिनेटमा लिंगार्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित निकालेको हो । जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अङ्क भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *