‘सिजनलाई पक्राउ गरेर सिंगम हुन खोज्नेलाई देखाईदिन्छौं’ पूर्व अर्थमन्त्री

सुनसरी, जेठ २२ । तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङलाई तत्काल रिहाई नगरे संघिय संसद अवरुद्ध गर्ने नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित विरोध सभामा बोल्दै कार्कीले सिजन गुरुङलाई तत्काल रिहाई नगरे संघिय संसदमा आवाज उठाउने बताएका हुन ।

मगंलवार सुनसरी कांग्रेसले सिजन गुरुङ पक्राउको विरोधमा इटहरीमा गरेको विरोध सभा गरेको थियो ।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधीसभामा निर्वाचित कांग्रेस नेता कार्कीले सिजनलाई विना कारण राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएको भन्दै सो विषयमा संघिय ससंदमा आवाज उठाउने जिकिर गरे ।

पूर्वमन्त्री कार्कीले सिजनलाई पक्राउ गरेर सरकारमा रहेको पार्टीले कांग्रेसलाई तर्साउन खोजेको आरोप लगाए । ‘तरुण दलका जिम्मेवार ब्यक्तिलाई पक्राउ गरेर सरकारले कांग्रेसलाई तर्साउने दुस्साहस गर्दैछ तर, कांग्रेस कुनै शक्तिले तर्साउँदा तर्सिदैन, हाम्रो कार्यकर्तालाई दुःख दिनेलाई छोड्दैनौ’ कार्कीले भने ।–‘तत्काल सिजन गुरुङलाई रिहा नगरे यो विषय संघिय संसदमा पुर्याउने छौं ।’

सिजनलाई विना आधारमा पक्राउ गरेको कुरा प्रष्ट हुँदाहुँदै मानसिक यातना दिनका लागि हिरासतमा राखेको पूर्वमन्त्री कार्कीको भनाई थियो । उनले काँग्रेस माथीको आक्रमणमा आफुहरु चुप लागेर नबस्ने चेतावनी दिदै सिजन पक्राउ गरेर सिंगम हुन खोज्नेलाई भविष्यमा देखाई दिने चेतावनी दिए ।

विरोधसभामा बोल्दै कांग्रेस सुनसरी सचिव केदार भण्डारीले सिजनलाई रिहाई नगरिए थप सशक्त संघर्ष थाल्ने चेतावनी दिए । कांग्रेसले शक्ति प्रर्दशन गर्दा कसैको भलो नहुने भन्दै भण्डारीले निर्दोश ब्यक्तिलाई विना आधार पक्राउ गरेर सरकारले जनतामा आतंक मच्चाएको आरोप लगाए ।

तरहरामा तिर्थकुमारी गिरी सँग भएको जग्गा सिमा विवादमा प्रहरी सिजनलाई पक्राउ गरेर अनुसन्धानका लागि भन्दै म्याद थप गर्दै हिरासतमा राख्दै आएको छ ।

गुरुङ पक्राउको विरोधमा कांग्रेस सुनसरीले चरणवद्ध आन्दोलन गर्दै आएको छ भने प्रदेश नम्बर १ को प्रदेशसभामा सिजनलाई राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएको भन्दैै प्रतिपक्षी नेपाली कांग्रेसले आइतवारको ससंद वैठक अवरुद्ध समेत गरेको थियो ।

यस अघि कांग्रेस सुनसरीले विराेध जुलुस र सिठ्ठी जुलुस समेत निकालिसकेकाे छ । गुरूङकाे रिहार्इका लागि तरूण दलका केन्द्रिय अध्यक्ष जितजंङ्ग बस्नेत समेत सुनसरी पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *