दुईचार चपरी माटो कोदालोले नै फाल्नुहोस, डोजरै चलाउनु परे यहाँ ल्याउनुहोस्

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई देशको आवश्यकतालाई बुझेर सत्य तथ्य सहित विस्तृत कार्य योजना बनाएर पेश गर्न निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औँ बैठकमा प्रम ओलीले झिना मसिना नभइ राष्ट्रिय महत्वका बहुसंख्यक जनता लाभान्वित हुने योजना तयार पारी पेश गर्न सम्पूर्ण मन्त्रालय र विभाग तथा उच्च अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, त्यसलाई कार्यान्वयन गर्ने कार्य योजना र सम्पन्न हुने समय र समयसीमा पनि तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्नुस् ।

उनले कृषिलाई आधुनिकीकरण गर्न के के आवश्यक छ ? के कति लगानी आवश्यक छ? भन्ने स्पष्ट खुलाएर योजना बनाएर पेश गर्नसमेत मन्त्रीलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले साना योजना मन्त्रालय तहबाटै टुंग्याउन र ठुला योजनाहरु राष्ट्रिय योजना आयोग र राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिए । उनले भने, दुईचार चपरी माटो कोदालोले नै फाल्नुहोस, डोजरै चलाउनु परे यहाँ ल्याउनुहोस् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगलाई पनि वृहत्तर योजना बनाएर समितिको बैठकमा पेश गर्न आग्रह गरे। अब चल्ते चलाते होइन साँच्चै देश विकास गर्नुछ । त्यसले गर्दा सबैले फरक ढंगले सोचौं । फरक ढंगले काम गरौं उनले भने ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेलले आर्थिक बर्ष २०७४/०७५ को दोस्रो चौमसिक बजेट खर्च र आयोजनाहरुको प्रगति विवरण पेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *