सामन्ती संस्कारले पार्टी चल्दैन : नेता सिटौला

काठमाडौँ, जेठ २१ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सामन्ती संस्कारले काँग्रेस पार्टी चल्न नसक्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले सोमबार आयोजना ‘गरेको वर्तमान सन्दर्भमा नेवि संघको भूमिका’ विषयक विचार गोष्ठी तथा उदयपुरमा चुनाव प्रचारका क्रममा घाइते मीरा कटुवाललाई आर्थिक सहयोग कार्यक्रममा उनले पार्टी नयाँ संरचनाका साथ अगाडि बढ्नुपर्ने बताए । “नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक छ,” उनले भने ।

नेता सिटौलाले पार्टीभित्र देखिएका गलत संस्कारलाई अन्त्य गरेर अगाडि बढेमात्र सफल हुने बताए । काँग्रेस निदाएर बसे प्रजातन्त्र निदाउने भन्दै उनले प्रजातन्त्रलाई निदाउन नदिन नेवि संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले वर्तमान सरकारले दुई तिहाइ छ भन्दैमा संविधानको भावना र मर्मविपरीत कार्य गरे काँग्रेस टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारे । नेता सिटौलाले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर द्वन्द्वकालीन घटनालाई न्याय दिलाउने काम काँग्रेसले मात्र गर्नसक्ने उल्लेख गरे।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राज्यले शिक्षालाई निःशुल्क गर्नुपर्नेमा नगरी शिक्षामा कम बजेट विनियोजन गरेको भन्दै यसको विरुद्धमा नेवि संघ उत्रिनुपर्ने बताए । “ओली सरकार निर्माण भएपछि चारपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढिसकेको छ, यसकाविरुद्धमा नेविसंघ लाग्नुपर्छ”, उनले भने ।

नेता पौडेलले देशमा विधिको शासन स्थापना गर्न सिकाउने काँग्रेसभित्र नै विधिको शासन नभएको उल्लेख गरे । “काँग्रेसलाई जनताले सच्चिने मौका दिएका छन्, संसद्मा जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत हुनुपर्छ,” उनले भने ।

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान नेतृत्वका कारण नेवि संघ कमजोर भएको भन्दै नेवि संघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए ।

नेवि संघ पूर्वमहामन्त्री उमेशजंग रायमाझी, नेविसंघका उपाध्यक्ष नवीन राई, डिल्लीराम सुवेदी, नेविसंघ काठमाडौँ अध्यक्ष मनोज वैद्य, नेविसंघका नेता दीपक भट्टराई, युवराज पाण्डेलगायतले नेविसंघको वर्तमान नेतृत्व निर्वाचन नगराउने खेलमा लागेको भन्दै निर्वाचन नगरे कडा आन्दोलन गर्ने बताए ।

नेविसंघ प्रदेश नं ३ का संयोजक रामप्रसाद अधिकारीले कोठामा बसेर जथाभावी जिम्मेवारी दिएर नेविसंघ बलियो नहुने भन्दै नेविसंघलाई बलियो बनाउने अभियानअनुसार उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा विसं २०७५ मंसिर १३ मा उदयपुरमा निर्वाचन प्रचारप्रसारका क्रममा एम्बुसमा परेर गम्भीर घाइते भएकी मीरा कटुवाललाई नेविसंघ अमेरिका शाखाका अध्यक्ष प्रभातराज कटुवाल र उनका साथीले संकलन गरी पठाएको रु तीन लाख नगद हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =