प्रधानमन्त्री रोजगार कार्यक्रम र नेपाली युवाको रोजगारी सपना

“
काठमाडौँ । आगामी पाँच वर्ष भित्रमा बैदेशिक रोजगारीमा जान नपर्ने अवस्थाको सृजना गरिने भनी सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा उद्घोष गरेकोे छ ।
देशभित्र रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने भनिएको छ । यसका लागि ३ अर्व १० करोड बजेट पनि विनियोजन गरिएको छ ।
सरकारले ल्याएको यस कार्यक्रमले लाखौँ युवालाई खुशी तुल्याएको छ । यो सरकारको उद्घोष भएको दिनदेखी नेपाली युवाले सपना देख्न थालीसकेका छन् ।
आजभोली मैले पनि दैनिकजसो नेपालमै रोजगारी पाएको,राम्रो जागिर खाएको , टन्न पैसा कमाएर घर परिवारसंग रमाउदै गरेको,यस्तै यस्तै सपनाहरु देख्ने गर्छु ।
जुन दिन देखि मैले प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा सुनेको छु । मैले पनि वैदेशिक रोजगारमा नजाने बरु आफ्नै ठाउँमा केही गर्ने सोच बनाएको छु ।
सरकारको आगामी बजेटमा उच्चशिक्षा अध्ययन गरेका युवालाई प्रमाण पत्र धितो राखेर ५ प्रतिशत ब्याजमा ७ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था उल्लेख गरिएको छ ।
यो व्यवस्थाले स्वदेशमा नै युवाका लागि केही हुन्छ भन्ने पूरा विश्वास त लागेको छैन् तर सरकारले उद्घोष नै गरिसकेको हुनाले यो कार्यक्रम कार्यान्वयन हुन्छ भन्ने लागेको छ ।
अब वैदेशिक रोजगारीमा नजाने बरु स्वदेशमै पढाईको सर्टिफिकेट धितो राखेर भएपनि केही व्यवसाय गर्ने कुरा सायद मजस्ता अरु धेरै नेपाली युवाहरुले पनि सोची रहेका होलान् ।
स्वदेशमै रोजगारी पाईने कुराले युवालाई एकातिर खुशी बनाएको छ । अर्को तर्फ दुखी पनि बनाएको छ । दुःखी यस मानेमा बनाएको छ की युवालाई यो कार्यक्रम कार्यान्वयन हुन्न की भन्ने चिन्ता छ ।
दुःखी हुनुमा आश्चर्य मान्नुपर्ने अवस्था पनि त छैन , किनकी यसअघिका सरकारले पनि यस्ता भाषण कैयौँपल्ट युवाहरुलाई बाँडिसकेका छन् तर कहिल्यै लागु भएनन् । तर ती भाषण केवल भाषणमा सिमित रहे । नेताका गफै रहेछन् भन्ने हामी युवाले ठम्यायौँ ।
नेताहरुले दिने यस्ता गफहरुमा युवाले विश्वास पनि गरुन कसरी ? नेताहरु बोल्ने तर बोलेको कुरा कार्यान्वयन नगर्ने गर्नाले पछिल्लो समयमा युवाहरुको राजनीतिप्रति वितृष्णा देखिन्छ ।
।
नेपालमा जताततै नातावाद, कृपावाद हावि छ ,सर्वसाधारणको पहुँच पनि त पुग्नु पर्यो नी नेपालमा जागिर खानलाई त ?
नेपालमा देखिएको यस्तै राजनीतिक कुसंस्कारले गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रम जो छ त्यो पनि प्रधानमन्त्री र मन्त्रीका आसपासका मान्छेकै लागि मात्रै लागु हुने हो की भन्ने आशंका युवाहरुमा उब्जिएको छ ।
नीति त राम्रो लिएको छ सरकारले , यो नीतिले मलाइ पनि हौँस्याएको छ । अब स्वदेशमै केही गर्नु पर्छ भन्ने आँट पलाएको छ ।
सरकारले मुलुकभित्र थप रोजगारी सिर्जना गरी क्रमशः नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरु गर्ने भएको छ । आव २०७५/७६ को बजेटअनुसार यस ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का लागि रु तीन अर्ब १० करोड विनियोजन गरेको छ ।
उक्त कार्यक्रममा व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायातपूर्वाधार र तीनै तहका सरकारका सार्वजनिक निर्माणका अन्य क्षेत्रलाई आबद्ध गरिने उल्लेख छ ।
स्वदेशमै युवालाई रोजगारी सिर्जना गर्नका लागि यो कार्यक्रम कार्यान्वयनले महत्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ ।
यस अघि नेपाल सरकार, अन्तर्रा्ष्ट्रिय श्रम संगठन, अन्तर्रा्ष्ट्रिय आप्रवासन संगठन लगायत मिलेर आर्थिक वर्ष २०७२/७३ र ७३/७४ को आँकडा विश्लेषण गरेका थिए जसअनुसार वैदेशिक रोजगारीमा जानेको संख्यामा करिब सवा ५ प्रतिशतले कमी आएको पाइएको छ ।
गन्तव्य मुलुकमा भएका नीति परिवर्तन, भूकम्प र त्यसपछिको परिस्थिति लगायतका कारणले संख्यामा कमी आएको हुनसक्ने अधिकारीहरु ठान्छन् । तैपनि वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेखनीय रुपमा भने कम भएको छैन् ।
यसलाई नेपालको परिप्रेक्षमा धेरै ठुलो उपलब्धी भने मान्न सकिदैन् । किनकी नेपालले चाहे भने संसारमा धेरै प्रगति गर्न सक्छ ।
कुनै पनि नेपाली युवालाई विदेश जानु पर्ने छैन् । किनकी नेपालसँग प्रयाप्त मात्रामा प्राकृतिक स्रोत साधन छन् । ती स्रोत साधनहरुको वैज्ञानिक व्यवस्थापन गर्ने हो भने नेपाल संसारको एक निकै विकसित देश बन्न समय लाग्ने छैन् ।
आर्थिक वर्ष ०७२/७३ मा झण्डै १ लाखले घटेको विदेशिनेको संख्या फ्रि भिसा फ्रि टिकट लागु भएको दोस्रो वर्ष अर्थात् आव ०७३/७४ मा ६ लाख ५८ हजार पुगेको छ ।
यो तथ्यांकले विदेशप्रति नेपाली कामदारको मोह नघटेको पुष्टि गर्छ । बरु नेपाली श्रमिक विदेश जाने लागतभन्दा रोजगारीको प्रत्याभूति चाहन्छन् भन्ने स्पष्ट हुन्छ ।
आर्थिक वर्ष ०७०/७१ मा ५ लाख २७हजार वैदेशिक रोजगारीमा गएकामा आव ०७१/७२ मा ५ लाख १२ हजार रोजगारीमा विदेशिएका थिए ।
आव ०७२/७३ मा यो संख्या घटेर ४ लाख १८ हजारले मात्र अन्तिम श्रम स्विकृति लिएका थिए ।
आव ०७३/०७४ मा ६ लाख ५८ हजारले अन्तिम श्रम स्विकृति लिएका छन् । यसलाई हेर्दा गत आवमा भन्दा यस आवमा विदेश जानेको संख्या २ लाखले वृद्धि भएको छ ।
यसरी विगतको वैदेशिक रोजगारमा जाने युवाको तथ्यांकलाई मुल्यांकन गर्ने हो भने युवाहरुको वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको देखिन्छ ।
आगामी प्रधानमन्त्री रोजगार कार्यक्रमले नेपाली युवाका रोजगारी सपनालाई साकार रुप दिन सहयोग पुग्नेछ भन्ने आशा गर्न सकिन्छ ।
“








