म्याड्रिड (एजेन्सी) । लुइस सुवारेजकाे दुई गोलमा स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै राखेकाे छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै यस सिजनमा आफ्नो अपराजित यात्रा कायमै राख्दा उसकाे चिर प्रतिष्पर्धी रियल म्याड्रिड भने बराबरीमा राेकिएकाे छ ।
बार्सिलोनाका लागि लुईस सुवारेजले २८औं र ६०औं मिनेटमा गोल गरे। यस्तै पाउलिन्होले ९०औँ मिनेटमा गोल थपेपछि बार्सा ३-० ले विजयी भएकाे थियाे।
जितपछि १२ खेलबाट ३४ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ७ अंकको अग्रता हासिल गरेकाे छ ।
एट्लेटिको म्याड्रिडसँग गए राति गोल रहित बराबरी खेल्दै साविक विजेता रियल म्याड्रिडले ला लिगामा थप अंक गुमाएको छ । शीर्षस्थानको बार्सिलोनासँगको दुरी १० अंकले पुगेको म्याड्रिड अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै एथट्लेटिको पनि रियलसँग समान २४ अंक सहित चौथो स्थानमा छ ।
ला लिगा अन्तर्गत म्याड्रिड डर्बीमा २००५ यता पहिलो पटक गोल भएन। त्यसयता २०१४-१५ को च्याम्पियन्स लिगको अन्तिम ८ को पहिलो लेगको खेल बाहेक रियल र एट्लेटिकोबीच ३९ खेलमा पहिलोपटक गोल नभएको हो ।
पहिलो हाफको सुरुआतमा घरेलु टोली अग्रता लिनबाट चुक्यो । रियलको रक्षात्मक त्रुटिमा एन्जल कोरियाले अवसर पाए पनि उनको प्रयास आकाशियो । पहिलो हाफमा रियल आक्रामण देखिएपनि घरेलु टोलीले दोस्रो हाफमा पोसेसन राखेपनि दुवै टोलीबाट गोल हुन् सकेन ।
अन्य खेलमा सेभिल्लाले सेल्टा भिगोसँग पुनरागमन गर्दै घरेलु मैदानमा २-१ ले जित्न सफल भयो । त्यस्तै गेटाफेले अलाभेसलाई ४-१ ले हरायो ।