मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

धरहरा पुनःनिर्माणका लागि जग्गा खाली गर्दै महानगरपालिका

काठमाडौँ, जेठ १९ । धरहरा पुनःनिर्माणका लागि धरहरा भीमसेन स्तम्भका नाममा रहेको सुन्धाराको जग्गा खाली गर्न शुरु गरिएको छ ।

कर्मचारी सञ्चय कोषले निर्माण गरेका २३ वटा टहरा आज भत्काइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

कोषको पुरानो भवनमा जान बनाइएको बाटोमा टहरा बनाई भाडामा दिइएको थियो । ती टहरा भत्काइसकेपछि गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक लिमिटेड र टक्सार विभागका भवन पनि भत्काइने महानगरपालिका नगर प्रहरीका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।

तीनवटै भवन भत्काउन भने सरकारले निर्णय गर्नुपर्ने उनले सुनाए। भत्किएको धरहरा त्यही स्वरुपमा राखेर त्यस क्षेत्रको अर्को स्थानमा उही आकार प्रकारमा बनाउने तयारी गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा पुनःनिर्माणका लागि नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । इच्छुक निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान समेत भइसकेकाले असार दोस्रो सातासम्म धरहरा पुनःनिर्माण शुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।

महानगरपालिकाले ऐतिहासिक स्थलको जग्गा मिचेर बनाइएका २२ वटा संरचना गत शनिबार भत्काएको थियो । ती संरचना महानगरपालिकासँग साइज वाकस ट्रेडर्सले भाडामा लिई बनाएको थियो ।

सम्झौता अवधि २०८२ सालसम्म भएपनि धरहरा पुनःनिर्माणका लागि जग्गा खाली गरिएको महानगरपालिकाले जनाएको छ ।

ट्रेडर्सका सञ्चालक सिद्ध गुरुङले भने महानगरपालिकाले २४ घण्टाअघि सूचना दिएर गैर कानूनी तवरले सम्झौता विपरीत टहरा भत्काएको दाबी गर्नुहुन्छ । महानगरपालिकाले भने पटकपटक भत्काउन दिएको सूचनालाई अटेर गरेकाले भत्काइएको जनाएको छ ।

प्रतिकृयाहरु
Loading...