सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी
मङ्सिर १३, काठमाडाैं । अल्पायुमै मृत्युको सिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु । आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै श्रीकृष्ण अभिनित अन्तिम चलचित्र बन्यो । म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् । यस्तै, नेपाली चलचित्र जगतमा सानाे उमेरमै ख्याती कमाएर संसार छाडेका कलाकारहरूका बारेमा हामीले जान्ने प्रयास गरेका छाै ।
सूर्य कुमार क्षत्री
सूय कुमार क्षत्रीले एक संकलकको रूपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गीतहरू सङ्कलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फुल खेल्दै आयो, धानको सिरौला लगायतका गीतहरू चर्चित छन् । त्यस्तै उनले गीत सङ्गीतसँगै पत्रकारितालाई पनि अघि बढाएका थिए । २०७१ मा ब्रेन ट्युमरको समस्या देखिए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ वैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखि उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनियनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।
श्रीकृष्ण श्रेष्ठ
वि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाइला राखेका थिए । उनी नायकको रूपमा भने ‘नाता’ फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटीएला, कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यक्तिको रूपमा चिनिन्थ्यो । श्रीकृष्ण श्रेष्ठको निधन ७२ साल साउन २४ गते भएको थियो ।
४७ वर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीकृष्णले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीकृष्णलाई त्यही बिरामीले च्यापेपछि मुम्बईको गंगाराम हस्पिटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसित भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।
मन्जु महत
लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २५ वर्षकी थिइन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको ७० साल चैत १५ गते निधन भएको थियो । गीत रेकर्डीङको लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा काठमाण्डौको गल्कोपाखामा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए । दुइटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिइन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँच ओटा दोहारी एल्बम बजारमा ल्याएकी थिइन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिइन् । उनले लगभग ३५ गीतमा अभिनय पनि गरेकी थिइन् । उनको सबैभन्दा चर्चित गीत थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।
आलोक नेम्वाङ
नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोड स्थित आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तिक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरिकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौँ पटक मैले कोसिस गरे बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका थिए ।
यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गीत हो बसमा छैन मेरो मन । नेपाली म्युजिक भिडियोको दुनीयामा आलोकको नाम भिडियोमा रंगहरुको महत्त्व दिनेको रूपमा लिइन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे ।
यी दुवै चलचित्रले औसत व्यापार गरे पनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तिम चलचित्रको रूपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रूपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, कर्मा लगायतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ वर्षको उमेरमा संसार छाडेका थिए ।
श्रीसा कार्की
सानै उमेरमा सफलता हात पारेकी थिइन् श्रीसाले । श्रीसा जम्मा २४ वर्षकी थिइन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्बिर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिइन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिइन् ।
नेहा पुन
मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ वर्षको उमेरमा नचाहँदा नचाहदै संसार छाडिन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिइन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिइन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताइएको थियो ।
जेसीका खड्का
नायिका जेसीका खड्काले २०७२ जेठ २९ गते आत्महत्या गरेकी थिइन् । आत्महत्या गर्नुभन्दा ६ वर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिइन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतिबाट जेसीका बनेकी थिइन् । उनले अभिनय गरेको फिल्म जङ्गल लभ चर्चामा रह्यो । मेरो माया तिमीलाई, जङ्गल लभ, लक्की सेवेन उनले अभिनय गरेका चलचित्रहरु हुन् ।