हत्या भएका भनिएका रुसी पत्रकार जीवित, योजनाबद्ध तरिकाले झुटो खबर फैलाइएको खुलासा !

काठमाडौँ, जेठ २७ । रुसका चर्चित पत्रकार अर्काडी बाब्चेन्कोको हत्या भएका भनिएकोमा उनी जिवित रहेको बताइएको छ । उनको हत्याको खबर झुटो साबित भएको छ । युक्रेनले हत्या भएको भनेर जानकारी दिएका उनी जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्।

ताजा जानकारीका अनुसार युक्रेनले योजनाबद्ध तरिकाले मंगलबार उनको हत्याको झुटो खबर फैलाएको थियो ।

एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन्।

उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन्।

पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन् ।

युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश रुसी गुप्तचर निकायले जारी गरेको दाबी गरेका थिए।

यता युक्रेनले रुसी एजेन्टको भण्डाफोर गर्नका लागि बाब्चेन्कोको हत्याको झुटो खबर फैलाउनु परेको बताएको छ ।

युक्रेन सुरक्षा सेवाका प्रमुख वसिल हृट्सेकले बुधबार मीडियालाई भने, ‘यो सबै एक ठूलो स्टिंग अपरेशन थियो जुन बाब्चेन्कोको हत्या उद्देश्यले रुसी सेनाले पठाएको हमलाकर्तालाई पक्राउ गर्नका लागि गर्नुपरेको थियो ।’

उनका अनुसार रुसी सुरक्षाबलले युक्रेनको नै एक नागरिकलाई बेब्चेन्कोलाई हत्या गर्नका लागि तयार गरेका थिए ।

हृट्सेकको दाबी अनुसार ती हमलाकर्ता बाब्चेन्कोको हत्याका लागि युद्धक्षेत्रका अनुभवी जानकारसमेत थुप्रै मानिसहरुसँग सम्पर्कमा थिए र उनले बाब्चेन्कोको हत्याका लागि तीन करोड रुपैयाँ बढी रकमको ‘सुपारी’ दिएका थिए ।

हमलाकर्ताको उक्त योजना युक्रेनको सुरक्षाबलले थाहा पाएपछि उनीहरुले उनको स्टिंग अपरेशन गर्नका लागि बाब्चेन्कोको हत्याको झुटो खबर फैलाएको उनले जानकारी दिए ।

त्यस्तो हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनको प्रहरीले जनाएको छ।

बुधबार पत्रकार सम्मेलन कक्षमा बाब्चेन्को प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय मिश्रित प्रतिक्रिया जनाएका थिए ।

बाब्चेन्कोका अनुसार उनलाई यसबारे सबै थाहा थियो । दोस्रो विकल्प नभएकाले उनले स्टिंग अपरेशनमा भाग लिने निर्णय गरेको उनले बताए । यद्यपी, यसबारे उनकी श्रीमतीलाई थाहा थियो वा थिएन भन्नेबारे बताइएको छैन ।

उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद दिएका थिए ।

यसअघि दिइएको उनको मृत्युसम्बन्धी समाचारमा ती पत्रकारलाई ढाडमा गोली लागेर रगतले लत्पतिएको अवस्थामा उनकी श्रीमतिले फेला पारेको र उपचारका लागि अस्पताल लगिंदै गर्दा एम्बुलेन्समा नै उनको निधन भएको जनाइएको थियो ।

बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =