दाङमा फैलिएको झाडापखाला नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको सांसदको आरोप

“
बुटवल, जेठ १७ । दाङको शान्तिनगरमा दुषित पानीको कारण फैलिएको झाडा पखालाबाट एक हजार छ सय ५० जना बिरामी छन् । दाङको झाडापखालाको विषयमा संसदमा बोल्न समय नदिएको भन्दै एक सांसदले गुनासो पोखेका छन् ।
पाँच नम्बर प्रदेश सभाको बुधबारको बैठकमा दाङ जिल्लाको शान्तिनगरमा फैलिएको झाडापखालाको विषयमा कुरा राख्न नदिइएको भन्दै दाङ क्षेत्रनम्बर ३ (ख) का सांसद उत्तरकुमार वलीले संसद र प्रदेश सरकारको आलोचना गरी गुनासो पोखेका हुन् । समय माग्दा समेत उपलब्ध नगराइएको उनको भनाइ छ ।
वलीले भने, विश्वका कुनै पनि मुलुकमा संसदमा जरुरी सार्वजनिक महत्वको बिषयमा आवाज उठाउन पाइने ब्यवस्था छ । तर आफूले सार्वजनिक महत्वको विषयमा आवाज उठाउन पाइएन ।
बुधबार प्रदेशसभा सचिवालय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल थियो । तर, दाङ घर भएका नेकपाका सांसद वलीले झाडापखाला प्रकोपको बिषयमा कुरा राख्न खोजेका थिए ।
साथै उनले यसको नियन्त्रणको तथा राहतको विषयमा प्रदेश सरकारले चासो नदिएको समेत आरोप लगाए ।
उनले झाडापखाला नियन्त्रण तथा राहत उपलब्ध गराउने बिषयमा प्रदेश सरकारले चासो नदिएको आरोप लगाए, जबकी दाङ घर भएका शंकर पोखरेल प्रदेश पाँचको मुख्यमन्त्री छन् । पोखरेल पनि नेकपाका नेता हुन् ।
मुख्यमन्त्री पोखरेलले भने दाङको शान्तिनगरमा फैलिएको झाडा पखाला नियन्त्रणका लागि प्रदेश सरकार बेखबर नरहेको भन्दै झाडा पखाला नियन्त्रण बाहिर नगएको दाबी गर्दै झाडापखाला नियन्त्रणका लागि आवश्यक आवश्यक जनशक्ति र औषधिको ब्यवस्था मिलाउन तत्कालै दाङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी गराए ।
“








