उत्तर कोरियाली उच्च अधिकारी यसकारण जाँदै छन् अमेरिका

सोल, जेठ १५ । अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ ।

उत्तर कोरियाका ती सैनिक जर्नेल मङ्गलबार चीनको बाटो हुदै त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जनाएका छन् । उनी यस वर्ष अमेरिका पुग्ने पहिलो सबैभन्दा उच्च अधिकारी रहेका पनि सो समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने भएको छ ।

उक्त वार्ताको तयारीकै क्रममा ती अधिकारी अमेरिका प्रस्थान गर्नुलाई सकारात्मक रुपमा लिइएको छ । यसले सो वार्ताका लागि तयारी लगायतका अरु पनि कार्यमा सहजता थप्ने अनुमान पनि गरिएको अधिकारीहरुको भनाई छ ।

उता गत आइतबार मात्र पनि केही अमेरिकी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको थियो । उक्त प्रतिनिधिमण्डलमा सहभागीहरुले त्यहाँका उच्च अधिकारीसँग भेटवार्ता र आगामी शिखर वार्ताको तयारीका बारेमा व्यापक परामर्श गरेका थिए ।

आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी शुरु भएको दुबैतर्फका अधिकारीहले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार नै ट्वीट गर्दै अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको र त्यसले आगामी वार्ताको तयारीका आवश्यक कुराकानी गर्नेछ भनेका थिए ।

त्यस प्रतिनिधिमण्डलले सोमबार र मङ्गलबार पनि उक्त वार्ताको बारेमा निरन्तर रुपमा परामर्श गरेको बताइएको थियो ।

मङ्गलबार अमेरिकाको लागि हिँडेका उत्तर कोरियाका जर्नेल किम योङ चोलले पनि अमेरिकामा उच्च अधिकारीहरुसँग भेटगरी प्रस्तावित दुई देशको वार्ताको बारेमा तयारी गर्नेबताइएको छ ।

उनी मङ्गलबार मात्र चीनको राजधानी बेइजिङ्स्थित एक अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । जर्नेल किम मङ्गलबार चीनमै रहने छन् र त्यहाँका सरकारी अधिकारीहरुसँग यस विषयमा छलफल गर्नेछन् ।

दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले सो समाचार दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली जर्नेलले अमेरिका र उत्तर कोरियाकाबीचमा हुन लागेको सो शिखर वार्ताको बारेमा चिनीयाँ अधिकारीहरुसँग परामर्श गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *