काँठे पुँजीवादको शिकार भए राजनीतिक पार्टीहरु–बाबुराम भट्टराई

“
काठमाडौँ, जेठ १४ । डा. बाबुराम भट्टराईले नेपालमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको भन्दै उनले राजनीतिक पार्टीहरु यसैको शिकार भएको बताएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक पार्टीहरु कमिसनखोरको शिकार भएको बताएका हुन् ।
सोमबार काठमाडौंमा नयाँ शक्ति पार्टीको युवा संगठनले गरेको कार्यक्रममा बोल्दै भट्टराइले नेपालमा काँठे पुँजीवादको रुपमा कमिसनखोरबाट कमिसन लिने र राज्यसत्ताको दोहन गर्ने प्रवृत्ति देखिएको भन्दै पुँजीवादको असरको रुपमा नेपालमा काँठे पुँजीवाद मौलाएको बताएका हुन् ।
उनले भने, ‘उत्तर र दक्षिणबाट नेपालमा पुँजीवादी छाल प्रवेश गरेको छ, तर त्यो नेपालमा काँठे पुँजीवादको रुपमा परिणत भएको छ ।’
उनका अनुसार, राज्य सत्तामा हिजोका क्रान्तिकारी मान्छेहरु पुगेका भएतापनि उनीहरुमा आसेपासे पुँजीवाद अर्थात् कमिसन खोरबाट कमिसन लिने, आफ्नो मान्छेलाई राज्यका विभिन्न ठाउँमा राख्ने, राज्यसत्ताको दोहान गर्ने प्रवृत्ति देखिएको छ यो नै काँठे पुँजीवादको अभिव्यक्ति हो ।
नेपालमा राजनीतिक व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक, आर्थिक र साँस्कृतिक अवस्था नफेरिएको भन्दै उनले यसलाई बदल्न हिजोको साम्यवाद वा समाजवादले काम नदिने टिप्पणी गरे ।
“








