मेलम्ची नगरपालिकामा अब फ्रि वाईफाई क्षेत्र

सिन्धुपाल्चोक । गाउँगाउँमा फ्रि वाईफाईलाई स्थानीय तहको निर्वाचन अघि विभिन्न राजनीतिक दल र नेताले भोट माग्ने हतियार बनाए । सम्भावना के छ अनुमान नै नगरी यसरी फ्रि वाईफाईको अवधारणालाई भोट माग्ने माध्यम बनाउँदा धेरै मतदाताहरुले पत्याएका थिएनन् । तर, निर्वाचित भएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिले यसैबाट पहिलो नमुना कामको सुरुवात गरेका छन् । मेलम्ची नगरपालिकामा बुधबारबाट फ्रि वाईफाई र नगर बस सञ्चालनमा ल्याइएको छ ।

पहिलो चरणमा नगर क्षेत्रभित्र २ वटा नगर बस संचालनमा ल्याइएको छ । मेलम्ची नगरपालिकाले आमा ह्योल्मो यातायात र हेलम्बु यातायातसँग आवश्यक समन्वय गरी नगर बस संचालनमा ल्याएको हो । यि बसहरु बिहान १० बजे नगर क्षेत्रको विभिन्न ६ स्थानमा जान्छन् र बेलुका ४ बजे सोही स्थानमा फर्किन्छन् ।

विशेषगरी नगरपालिकामा रहेका सरकारी र गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी बस संचालनमा ल्याइएको मेलम्ची नगरपालिकाले जनाएको छ । नगरप्रमुख डम्बर अर्यालले भने, “हाललाई २ वटा नगर बस संचालनमा ल्याइएको छ । हामी तीन महिनाभित्र अर्को ६ वटा फ्रि वाईफाईसहितको नयाँ नगर बस संचालनमा ल्याउँछौ ।”

आजैबाट मेलम्ची नगरक्षेत्रमा फ्रि वाईफाई सेवा पनि सुरु गरिएको छ । मेलम्ची नगरपालिकाले कम्प्युटर एसोसिएसन  नेपाल महासंघ (क्यान) सिन्धुपाल्चोकसँग समन्वय गरी नगरमा मानिसहरुको धेरै आवतजावत हुने विभिन्न स्थानमा ३० वटा भन्दा बढी डिभाइस जडान गरी फ्रि वाईफाई सेवा सुरु गरिएको हो ।

निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रम अन्र्तगतको बजेटबाट नगरमा वाईफाई सेवा संचालन गरिएको हो । मानिसहरुको बढी भिडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी र गैरसकारी कार्यालय लगाएतका स्थानमा डिभाईस राखी वाईफाई सेवा सुचारु गरिएको क्यान महासंघ सिन्धुपाल्चोकका अध्यक्ष प्रभात क्षेष्ठले बताए । “हाललाई नगरको विभिन्न स्थानमा ३० भन्दा बढी एक एमबीको राउटर र आवाश्यक डिभाइस जडान गरी वाईफाई जोडिएको छ ।

यसबाट नगरबासीले नगर क्षेत्रको विभिन्न स्थानबाट मज्जाले इन्टरनेट सेवाको उपयोग गर्न सक्ने छन्,” श्रेष्ठले भने । एक औपचारिक कार्यक्रमको आयोजना गरी ३ नम्बर निर्वाचन क्षेत्रका सांसद् शेरबहादुर तामाङ र मेलम्ची नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख डम्बर अर्यालले नगर बस र फ्रि वाईफाई सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

जिल्लाको ३ नम्बर क्षेत्रमा पर्ने मेलम्ची नगरपालिकामा १४ वडा रहेका छन् । साविकको १० गाविस गाभिएर बनेको यो नगरपालिका जिल्लामा रहेका अन्य २ नगरपालिका बाह्रबिसे र चौतारा नगरपालिकाभन्दा भौतिक पूर्वाधारका हिसाबले सम्पन्न रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =