सुधारको बाटोमा बिपी कोइराला क्यान्सर अस्पताल

चितवन, असार ६ । व्यवस्थापकीय त्रुटिका कारण अस्तव्यस्त बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै यसको सेवा सुधार अभियान थालिएको छ । गत वैशाख २४ गते कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै अस्पतालले प्रदान गर्ने सेवामा सुधार आएको छ । कर्मचारीलाई सबै सेवा पुनः सुरू गरी अतिरिक्त समयमा समेत काम गर्न आचार्यले निर्देशन दिएका छन्। निर्देशनसँगै अहिले अस्पताल आएका बिरामी सेवा लिन अन्यत्र जानु परेको छैन् । 

अस्पतालले वैशाखमा ९१०५ बिरामीको उपचार गरेकोमा जेठमा उक्त सङ्ख्या ११,८४९ पुगेको छ । बिग्रिएर थन्किएको एमआरआई मर्मत गरिएको छ । सो अस्पतालका अनुसार वैशाखमा ३९९ बिरामीको तथा जेठमा ७२५ जनाको सिटिस्क्यान गरिएको छ । यसअघि बिरामी सिटिस्क्यान गर्न र रेडियो थेरापी सेवाका लागि अन्यत्र जान बाध्य थिए । 

वैशाखमा ७७ जनाको मेमोग्राफी गरिएकोमा जेठमा ११६ जनाको गरिएको छ भने गामा क्यामरा परीक्षण गराउनेको सङ्ख्या १५ जनाबाट ५५ जना पुगेको छ । वैशाख मा ८७३ जनाको सेकाई गरिएकोमा जेठमा सो सङ्ख्या एक हजार ८१२ पुगेको अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिए । हामीले प्रदान गर्ने सेवा बाहिरको भन्दा आधा सस्तो छ,” उनले भने।

अस्पतालको लेखा शाखाका अनुसार अस्पतालले वैशाखमा ९६ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ । जेठमा सो आम्दानी बढेर एक करोड ४६ लाख पाँच हजार रुपैयाँ पुगेको छ । अस्पतालको इन्धनमा बेथिति ढङ्गबाट खर्च भएको गुनासो आइरहेकामा सो खर्चमा समेत कमी आएको छ । वैशाखमा एक लाख ४६ हजार रुपैयाँ इन्धनमा खर्च भएकामा जेठमा एक लाख सात हजार रुपैयाँ मात्र खर्च भएको अस्पतालले जनाएको छ । 

अनावश्यक खर्च घटाउने र सेवा विस्तार गर्दै लैजाने योजना बनाएका छौँ,” डा आचार्यले भने। अस्पताल आएका बिरामीलाई बाहिर पठाउन नपरोस् भनेर सेवा चुस्तदुरुस्त बनाइएको उनको भनाइ छ । बिहान र बेलुकाको समयमा चिकित्सक प्राविधिकले अतिरिक्त सेवा दिएकाले केही खर्च बढे पनि बिरामीले सेवा पाएको र अस्पतालको आम्दानीमा समेत वृद्धि भएको उनले बताए । 

पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी नबनाउने र बाहिर बिचौलियासँग मिलेमतो गरेर बिरामी पठाउन थालेपछि गएको साउनमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बिचौलिया नियन्त्रणमा लिएको थियो । अस्पताललाई जुन उद्देश्यका साथ स्थापना गरिएको हो, सोही अनुरुप बिरामीलाई सेवा सुविधा दिने काममा जुटेको अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए। उनले छिट्टै श्यया थप गरी बिरामीलाई सेवा दिने पनि बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 5 =