पक्राऊ विरुद्ध प्रजिअलाई कांग्रेसको ज्ञापन–पत्र

धरान, जेठ १३ । नेपाली कांग्रेस सुनसरीले प्रहरी ज्यादती र नेपाल तरुण दल सुनसरीका सभापति एवम् पार्टीको महासमिति सदस्य सिजन गुरुङ पक्राऊको विरुद्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन–पत्र बुझाएको छ ।

नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीसमक्ष ज्ञापन–पत्र बुझाएको हो ।

जग्गाको सिमाना सम्बन्धि भएको सामान्य विवादलाई स्थानीय जनप्रतिनिधि, भद्र भलादमी, प्रहरी, अमिनि सबैको उपस्थितिमा मेल मिलाप गराई भोली पुनः छलफलमा बस्ने सहमति भईसकेको अवस्थामा इलाका प्रहरी कार्यालय, इटहरीका डिएसपी शिव श्रेष्ठले जबरजस्ती उजुरी हाल्न लगाई जघन्य अपराध गरेको अपराधीलाई जस्तो राती १० बजे पक्राउ गरी मानसिक र शारीरिक यातना समेत दिंदै सार्वजनिक मूद्दा दायर गरेको भन्दै प्रहरी ज्यादतीको विरोधमा तथा आतंक मच्चाउने प्रहरीलाई कारवाही गर्न र निर्दोष गुरुङलाई निःशर्त रिहा गर्न ज्ञापन–पत्रमा माग गरिएको छ ।

लोकतन्त्र र विधिको शासनको बर्खिलाप हुने गरी पूर्वाग्रही ढंगले झुटो मूद्दा लगाई फसाउन खोजेको भन्दै अविलम्व रिहा नगरे संघर्षका कडा कार्यक्रमहरु गर्दै जाने समेत ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन–पत्र बुझ्दै प्रजिअ उप्रेतीले आफुलाई यो विषयमा पूर्ण जानकारी नभएको र अनुसन्धान गर्न म्याद थपका लागि आएकाले म्याद थप गरिएको बताए ।

टोलीमा नेपाली कांग्रेसका महासमिति सदस्य राजिव ढुंगाना, २ नं. क्षेत्रीय सभापति तथा २० वडा अध्यक्ष मणिराम श्रेष्ठ, १ नं. क्षेत्रीय सचिव मुरारी भट्टराई, धरान नगर सभापति तिलक राई, इटहरी नगरका कार्यवाहक सभापति शिव दाहाल, नेविसंघ केन्द्रिय उपाध्यक्ष तथा १ नं. प्रदेश संयोजक विकास केसी, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष सन्तोष विक, केन्द्रिय पार्षद उर्मिला कोइराला लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =